मेलम्ची खानेपानी भ्रष्टाचारमा दोषी ठहरिएकालाई सुनाइयो सजाय

काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहरिएकालाई सोमबार सजाय सुनाएको छ ।  विशेष अदालतले पुर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई ८ वर्ष १ महिना कैद हुने फैसला सुनाएको छ।

विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । सोमबार उक्त फैसलामा सजाय सुनाएको हो ।

ठाकुरलाई आठ वर्ष एक महिना कैद सहित १० करोड १० लाख जरिवाना हुने फैसला गरेको हो । अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सूर्यराज कँडेल र रामचन्द्र देवकोटालाई पनि ठाकुरलाई सरह नै कैद र जरिवाना हुने फैसला गरेको हो ।

विशेष अदालतले परामर्शदाता शिवकुमार शर्मालाई आठ वर्ष कैद र २ करोड ९५ लाख रुपैंया विगो सजाय सुनाएको छ । तर, उनी ६५ वर्ष नाघेको देखिएको भन्दै अदालतले दुई वर्ष कैद छुट दिई छ वर्ष मात्रै कैद बस्नुपर्ने फैसला गरेको छ । त्यस्तै विशेष अदालतले परामर्शदातासहित तीन कम्पनीलाई बिगो कायम गरेको छ  ।

ठेकेदार कम्पनी इप्टिसालाई ६ करोड २१ लाख विगो फैसला गरेको छ । अर्को कम्पनी बीईटीएसलाई पनि त्यति नै विगो सजाय भएको छ । ठेक्का पाएको अर्को कम्पनी सीएमसीबाट २६ करोड ११ लाख रुपैंया विगो असुल्ने फैसला भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिव सहित १५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा कुल ८९ करोड ८ लाख रुपैंया रोज्यकोषमा नोक्सानी भएको निचोड सहित अख्तियारले मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *