विभागले भन्यो- कृषि कर्म गर्नुअघि मौसमबारे जानकारी लिनू, काटिसकेको धान बाली खेतमा नछोड्नू

काठमाडौं । आगामी केही दिन देशभरको मौसममा बदलाव आउनेछ । विभिन्न स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दाअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । काटिसकेको धान बाली खेतमा नछोड्न पनि आग्रह गरिएको छ ।

अगौटे धान बाली भित्र्याउने समय भएकाले मेसिनको प्रयोग गरी छिटो भित्र्याइ हाल्न राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले सुझाएका छन् । काटेको धान खेतमा नछोड्ने, केही काँचोमै काटी सकेको धान चिउरा बनाउन सकिने रिमालको भनाई छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षा हुनेछ । केही स्थानमा मध्यम र एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *