‘जलवायु अनुकूलन अबको जीवन पद्धति’

महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब जीवन पद्धतिसँग जोडिएको बताएका छन् ।

संसार नै जलवायु परिवर्तनको असरले प्रभावित भइरहेका बेला अब चराचर प्राणीजगत्को जीवनका लागि जलवायु अनुकूलनतिर अग्रसर हुन अपरिहार्य बनेको उनले उल्लेख गरे । सिंहले बर्दिबासमा विभिन्न १४ वटा सामाजिक सङ्घसंस्थाले आज आयोजना गरेको ‘स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन’ छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गरे ।

जलवायु परिवर्तनका नकारात्मक असर घटाउँदै लान यो परिस्थितिभित्रबाटै सकारात्मक पहलकदमी आवश्यक रहेको उनको भनाइ छ । विषादीरहित प्राङ्गारिक खेतीपाती, सन्तुलित आहारविहार, प्रकृति संरक्षण र वातावरणीय सन्तुलनका लागि सघन वृक्षारोपणजस्ता विषय जलवायु अनुकूलनसँग जोडिएका हुँदा यसको अनुसरण अनिवार्य बनेको मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।

जलवायु अनुकूलन सचेतना मधेसका बस्तीबस्तीमा पुर्‍याउन स्थानीय तह र सामाजिक सङ्घसंस्थाको नेतृत्वदायी भूमिका हुनपर्ने सिंहको भनाइ छ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड नयाँ बिरुवा रोपिने अभियान थालेको बताए । अब गरिने वृक्षारोपण माटो जाँच र रोपिने बिरुवाको वातावरणीय विशेषता निर्क्यौल गरेर मात्र रोप्नुपर्ने उनको भनाइ छ ।

सम्मेलनमा जलवायु अनुकूलनसँग जोडिएका गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापको प्रभावकारिता, अनुकूलन क्रियाकलापलाई बढावा दिन नीतिगत वातावरण निर्माण र स्थानीय अनुकूलन क्रियाकलापको विश्वव्यापी लक्ष्यबारे घनिभूत छलफल गरिएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।

सम्मेलनबाट जलवायु अनुकूलनसम्बन्धी विषयवस्तुबारे थप जानकारी प्राप्त गरेको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले बताइन् । सम्मेलनमा जलवायु अनुकूलन खेती अँगाल्दै आएका कोशी र बागमती प्रदेशका किसान समूह पनि सहभागी छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *