विदेश जाने सपना त्यागेका दुई साथी

तीन सयबाट व्यापार थालेका कृति र अन्जना गर्छन् लाखौँको कारोबार (भिडिओ)

काठमाडौँ । विद्यार्थी हुँदै व्यवसायी बनेका दुई मिल्ने साथी हुन् अन्जना सुवाल र कृति गाइँजु । उनीहरू सानै देखि एउटै विद्यालयमा पढ्थे । एसइई दिइसकेपछि पनि सँगै कलेज पढे । तर दुवैको काम भने फरक थियो । कृतिले फाइनान्समा मार्केटिङ गर्थिन् भने अन्जनाले भक्तपुरकै चण्डेश्वरी विद्यालयमा शिक्षण गर्थिन् ।

पछि अन्जनाले पनि कृतिसँगै मार्केटिङ गर्न थालिन् ।

जाडो महिनाको समय थियो । उनीहरू फाइनान्सको पैसा उठाउँदै एउटा पसलमा पुगे । त्यहाँ उनीहरूले एउटा सुरुवाल देखे । सुरुवाल हेर्दा राम्रो देखिन्थ्यो । जसको भित्र पट्टि क्रिज पनि थियो । उनीहरूले त्यसको मूल्य साधे । जम्मा ४ सय रुपियाँ मात्र भनियो ।

त्यसपछि अन्जनाले कृतिलाई भनिन् ‘हेर त कति सस्तो छ है, सुरुवाल त , ४ सय मात्र रैछ । हामीले त उहाँसँग कुरा गरेर अलि मिलाएर किन्यौँ भने अझैँ राम्रो दाममा बेच्न सक्छौ । नि ’

आइडिया दुवैलाई मन पर्‍यो, त्यसपछि उनीहरूले त्यस सुरुवाललाई ३ सय रुपियाँमा खरिद गरे । फोटो खिचेर फेसबुकको स्टोरीमा पनि हाले । नभन्दै उनीहरूको त्यो सुरुवाल ४०० रुपैयाँमा बिक्री भयो ।

त्यस घटनाले उनीहरूलाई एक प्रकारको हौसला मिल्यो ।

त्यसपछि उनीहरूले सुरुवाल बेचेर कमाएको सय रुपियाँलाई नचलाई राखे । आफूसँग भएको पैसा पनि जोरजाम गरे । जम्मा ३, ४ हजार भयो । परिवारसँग पनि धेरै पैसा नहुने भएकाले मागेनन् ।
उक्त रकमबाट नै उनीहरूले सामान किन्ने निधो गरे ।

त्यसका लागि धेरै पसलेहरूसँग उनीहरूले सोधखोज गरे तर कसैले बताएनन् । उनीहरू आफ्नो विगतलाई सम्झँदै भन्छन् ‘होलसेल पसल खोज्न हामीले धेरै मेहनत गर्‍यौ, तर मान्छेले भन्न नचाहने रहेछ । हामीलाई धेरै समय लागेको थियो । त्यसपछि हामीले मार्केट खोज्यौ पनि तर हामीसँग पैसा नै हुँदैनथ्यो ।’

त्यसपछि उनीहरू अनलाइनमा हेर्दै होसलेस पसल खोज्न थाले । एकपटक उनीहरू कलङ्कीमा पनि पुगेका थिए । तर त्यहाँ कुनै होलसेल पसल देखिएन, केबल एउटा खालि बिल्डिङ, उनीहरूलाई हेर्दै गिज्याइ रहेको थियो ।

निकै लामो समय पछि भने उनीहरूको खोज अन्त्य भयो । अन्ततः न्युरोडमा उनीहरूले होलसेल पसल भेट्टाइ छाडे । ‘अहिले हामीले त्यहीबाट सामान ल्याउँछौ ।’ अन्जनाले भनिन् ।

पहिलो पटक १० हजारको सामान किन्दा
अन्जनाले पहिलोपल्ट न्युरोडबाट १० हजारको सामान खरिद गरेको सुनाइन् । उनीहरूले न्युरोडबाट खरिद गरेको लुगाहरूलाई अनलाइन कै माध्यमबाट बेचे । त्यसबाट आएको नाफालाई पनि खर्च नगरी सामान किन्न प्रयोग गरे ।

उनीहरूका साथीभाइ, आफन्त, छरछिमेक र अनलाइनबाट बनेका ग्राहकहरूले पनि ‘तिमीहरू कोपसङ कता छ ?’ भनेर सोध्न थाले ।

त्यसपछि कृतिले आफ्नै घरको छिँडीलाई नै पसल बनाइन् । उनले ‘पसल कता छ ?’ भनेर सोध्ने ग्राहकहरूलाई कमलविनायकमा रहेको आफ्नै घरको लोकेसन दिइन् ।

उनले भनिन् ‘धेरै जना ग्राहकहरूलाई त्यसरी तान्यौँ हामीले । ग्राहकहरूले पनि हाम्रो विश्वास गरेर आइदिनु भयो । चिनजानको मान्छेहरू आएर । घरमै थोरै सामान भएता पनि बढाउँदै लग्यौँ । पछि चैँ हामीले पसल खोल्ने निर्णय गर्‍यौँ ।’

पहिलो पटक पसल खोलेपछि
कृतिका अनुसार एक दिन उनीहरूकै चिनजानका दाइले उनको घरको दोस्रो तल्ला खालि भएको  बताएका थिए । उनले उनीहरूलाई भाडा धेरै नलाग्ने भन्दै कोठा लिएर नै व्यापार गर्न उक्साए । त्यसपछि कृति र अन्जनाले पसल खोलेर लुगाको व्यापार गर्न थाले । उनले अहिले यस ठाउँमा पसल राखेको साढे दुई महिना भएको उनले बताइन् ।

अहिले उनीहरूको लुगा पसल ‘ग्लोरी कलेक्सन’ भक्तपुर पोटरी स्क्वायर, राम मन्दिर जाने ओह्रालोमा रहेको छ । कृतिले ग्लोरी कलेक्सनमा खासगरि युवाहरूलाई लक्षित गरेर लेडिजको आइटमहरू राखिएको बताइन् । उनले ग्लोरी कलेक्सनमा विशेषगरी वानपिस, टिसर्ट, ज्याकेट जस्ता अहिले आएका भराइटिका पहिरनहरू पाइने बताइन् ।

त्यस्तै उनले अनलाइन सर्भिस चैँ विशेषगरी इन्ट्राग्राम, फेसबुक, टिकटकमा राखिएको बताइन् । उनले ‘ग्लोरी कलेक्सन क्लब’ भनेर फेसबुकमा नाम राखेको जानकारी दिइन् ।

उनका अनुसार उनीहरूले बिजनेस गर्न थालेको ६-७ वर्ष भइसकेको छ । ३०० रुपियाँमा सुरुवाल किनेर अनलाइन बिजनेस थालेका उनीहरूको कारोबार आज २० लाखसम्म पुगिसकेको कृतिले बताइन ।

उनी भन्छिन् ‘अहिलेसम्म पसल राम्रै चलिरहेको छ । मेहनत गरे अनुसार फल पनि पाइरहेका छौँ । साथीहरू, इस्ट मित्र अनलाइनबाट कमाएका कस्टमहरू पनि सबै आइरहनु भएको छ ।’

कस्तो चल्दै छ व्यापार ?
अन्जनाका अनुसार अफसिजनमा करिब १५-२० हजारको व्यापार हुने गरेको छ भने अन्य समयमा भने लाखको कारोबार हुन्छ । उनले यस व्यवसायबाट राम्रो नाफा हुने बताइन् ।

उनीहरूले महिना भरिको आम्दानी हिसाब गरेर पसलको लागि छुट्याउछन् । त्यसपछि मात्र आफ्नो लागि खर्च गर्छन् । उनीहरूले बचेकुचेको आम्दानीलाई दुई भागमा बाँड्ने गरेका छन् ।

अन्जना भन्छिन् ‘पसलको भाडाहरू लागि छुट्याएर अनि आधा आधा बाँड्छौँ ।’

अहिले उनीहरूको पसलको मूल्य करिब २० लाख पुगिसकेको छ ।

अबको योजना 
अन्जनाले अबको योजना ‘ग्लोरी कलेक्सन’ को ब्रान्चलाई नेपालभर विस्तार गर्ने रहेको बताइन् । उनले किड्स वेयर नत्र जेन्स वेयर सप खोल्ने बताइन् । भनिन् ‘ बिजनेस एक्सपान्ड गर्दै जाने । नेपालमै ब्रान्चहरू खोलेर अगाडि बढ्ने हाम्रो योजना छौँ ।’

अर्को पनि बिजनेस !
हाल अन्जना र कृतिले फेन्सी स्टोरका साथसाथै पार्लरको काम पनि गर्ने गरेका छन् । उनीहरूले आफ्नै घरबाट ग्राहकहरूलाई केराटिन, हेयर स्ट्रेट र ब्राइडल मेकअप जस्ता थुप्रै सेवाहरू दिइरहेका छन् ।

अन्जनाले सिजनको समयमा २ बजेदेखि उठेर होस्हो २ बजेसम्म नसुतेर होस् समय मिलाएर ग्राहकहरूलाई सेवा दिने गरेको जानकारी दिइन् ।

उनले नभ्याएको खण्डमा आमा र बहिनीहरूले पसलमा बसिदिएर सहयोग गरिदिने बताइन् । त्यस्तै अन्जनाले भने अझै पनि मार्केटिङको कामलाई निरन्तरता दिइरहेका छिन् ।

दिउँसो खास्सै ग्राहकहरूको भिड नहुने भएकाले कृति एक्लै पसलमा बस्ने गरेको उनले बताइन् । ‘दिउँसो ४ बजेपछि अलि भिड हुने भएकाले दुवैजना पसलमै हुन्छम् । ’ अन्जनाले भनिन् ।

भाइबहिनीहरूको खर्च पनि आफैले 
अन्जना र कृतिले आफ्नो भाइबहिनीहरूको खर्च आफैले उठाइ रहेको जानकारी दिए । साथै उनीहरूले घर खर्चहरूमा सहयोग गर्ने बताए ।

हामी पनि विदेश जाने कि ?
कृतिले साथीहरू सबै विदेश जान थालेसँगै ‘कहिलेकाहीँ हामी पनि जानी कि’ भन्ने सोच आउने बताइन् । उनले भनिन् ‘साथीहरू सबै बाहिर जान थाले । हामी भरखर स्ट्रगल फ्रेजमा छौँ । हामी पनि विदेश जाने कि भनेर हरेक समय लाग्छ । तर पनि अहिलेसम्म हामीले हिम्मत हारेका छैनौँ । नेपालमै केही गर्छौ भनेर सोचेका छौँ ।’

अन्जना र कृतिले प्लस टु गरेपछि ‘अस्ट्रेलिया ट्राई गरम कि’ भन्ने सोच आएको बताए । त्यसपछि उनीहरूले विदेश गएका थुप्रै मान्छेहरूसँग रिभ्यु लिए । तर ‘एक्लै आउने भए नआउनु, विवाह गरेर मात्र आउँदा मात्र राम्रो हुन्छ’ भन्ने रिभ्यु पाएपछि नेपालमै केही गर्ने सोच बनाएको बताए ।

घर परिवारबाट कत्तिको समर्थन छ ?
अन्जनाले घर परिवारबाट व्यवसाय गर्नका लागि एकदमै धेरै समर्थन गरेको बताइन् । उनले भनिन् ‘घरबाट पनि तिमिहरूको इच्छा छ भने गर, गलत बाटोमा नलाग भन्नुहुन्छ ।’

उनको कुरामा समर्थन जनाउँदै कृतिले भनिन् ‘केटी भयो भनेर चैँ हामीलाई कहिल्यै पनि कुनै कुरामा छेक्नु भएन । कहिलेकाहीँ हामी फाइनान्स सकेर ९/१० बजे पनि डेलिभरी गर्ने काम गर्थौँ । तर फोन गरेर नानी छिटो आइज, छोरी भएर यस्तो उस्तो कहिल्यै भन्नुुभएन् ।’

उनीहरूले परिवारले पनि आफूहरूलाई पूर्ण विश्वास गरेको बताए ।

अन्जना र कृतिले हालसम्म ग्राहकहरूको राम्रो प्रतिक्रिया पाइरहेको बताए । उनीहरूले भने ‘एकदमै अफोर्डएबल प्राइसहरूमा, दसैँ तिहारमा पनि डिस्काउन्ट अफरहरू राखेर कस्टुमरलाई खुसी पर्ने गरेका छौँ ’

त्यस्तै कहिलेकाहीँ उनीहरू बिचमा पनि मनमुटाव हुन्छ तर त्यस्तो ठुलो झगडा भने कहिल्यै नपरेको उनीहरूले सम्झे । उनीहरूले एक अर्का प्रति पूर्ण विश्वास भएको बताए ।

उनीहरूले जीवनमा जे जस्तो आइपरे पनि प्रयास चैँ कहिल्यै छाड्नु नहुने बताए । उनीहरूले भने ‘हामीले पनि ३०० बाट यहाँसम्म पुग्छौँ भनेर सोचेका थिएनौँ । हिम्मत नहारी गरिराख्यौँ भने अवश्य सफलता पाउन सकिन्छ । युवाहरूलाई विदेशमा मात्र करियर छ भनेर सोच्नु हुँदैन । हामीले दिमाग लगाएर काम गर्‍यौँ भनेर धेरै पैसा कमाउन सकिने रहेछ ।’

उनीहरूले अरूको काम गर्नुभन्दा स्वतन्त्र भएर आफ्नै व्यवसाय गर्नु उत्तम रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *