स्वास्थ्यसंग एनसेल फाउण्डेशन : झापामा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

विभिन्न ठाउँमा पुगेर स्वास्थ्य सम्बन्धी सचेतना फैलाउँदै

काठमाडौं । एनसेल फाउण्डेशनले प्रदेशस्तरमा सञ्चालन गरिरहेको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर आयोजना गरेको छ । गत हप्ता झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा फाउण्डेशनले निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको हो ।

यस निःशुल्क शिविरमा १ सय २० जना भन्दा बढी महिलाहरु सहभागि थिए । त्यसमध्ये ९० जना भन्दा बढिले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका छन् । नेपाल क्यान्सर फाउण्डेशन र पुर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउण्डेशनले आयोजना गरेको उक्त शिविर कोशेढुङ्गा सावित भएको छ ।

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरहरु मध्ये पहिलो स्थानमा पर्दछ । सन् २०२२ मा मात्रै २,१६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर भएको पाईएको थियो भने यस रोगको कारण १,३१३ जनाले आफ्नो ज्यान गुमाएका थिए ।

शिविरमा आएकी बिर्तामोड नगरपालिका – ५ की शोभा ठाकुरले भनिन्,“यहाँ पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको लागि शिविर बस्दै छ भनेर थाहा पाएर साथीहरु पनि लिएर आएँ । आफ्नो स्वास्थ्यको कुरा खुलेर भन्न नसक्दा मेरो सासु ब्रेस्ट क्यान्सर भएको तेस्रो स्टेजमा मात्र थाहा भएकोले बित्नु भयो । आफ्नो स्वास्थ्य छ त छोरा, छोरी संसार सबै हुन्छ ।”

त्यसैगरी बेलबारी–५, मोरङबाट शिविरमा आएकी टिका गौतम कोइरालाले भनिन्,“यो जीवन लिने डर लाग्दो रोग रहेछ । यसलाई समयमा नै उपचार गर्‍यो भने बाँच्न सकिन्छ त्यसैले मौका पाएकीले यहाँ शिविरमा आएकी हुँ । सचेत हुन पाईयो भने यो रोगबाट मुक्त हुन पाइन्छ त्यसैले यो स्क्रिनिङ टेस्ट एकदमै जरुरी छ ।”

शिविरले महिलाहरुलाई स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरु लिनुको महत्वलाई उजागर गरेर पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान र रोकथामको लागि नियमित स्क्रिनिङ र सम्बन्धित परिक्षणहरु गर्न प्रोत्साहन गरेको छ । एनसेल फाउण्डेशनले कोशी प्रदेशमा ६ हजार भन्दा बढी महिलाहरुको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ ।

पहुँच नभएकाहरूसम्म स्क्रिनिङ शिवर पुर्‍याउने लक्ष्य रहेको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले बताइन् ।

“अधिकांश मृत्यु पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ र उपचारमा अपर्याप्त पहुँचका कारण कम र निम्न मध्यम आय भएका महिलाहरूमा भएका छन् । पाठेघरको मुखको क्यान्सर सबैभन्दा सामान्य र नेपाली महिलाहरुको मृत्युको प्रमुख कारण रहेको तथ्याङ्कले देखाउँछ । ८० प्रतिशत भन्दा बढि पाठेघरको मुखको क्यान्सरका रोगीहरुले अन्तिममा आएर मात्र रोग लागेको थाहा पाउँछन्,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् ।

कोशी प्रदेशमा सुरु भएको यस पाइलट प्रोजेक्टको सफलता पछि आगामी दिनमा यस किसिमका पहलहरु अन्य प्रदेशमा पनि विस्तार गर्दै जाने खड्काले बताइन् ।

एनसेलले आफ्नो सेवा सञ्चालनको १९ औँ वार्षिकोत्सवको अवसरमा फाउण्डेशनको घोषणा गरेको थियो । फाउण्डेशनले सात वटै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु गर्ने योजना बनाएको छ ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सामाजिक परियोजनाहरुको कार्यन्वयन लागि रु २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *