प्रचण्डको सचिवालयले भन्यो- रवीन्द्रजीमा राजनीतिक संस्कार देखिएन, प्रचण्ड पछाडि फर्किने पात्र होइनन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले आपत्ति जनाएको छ । सचिवालयले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको भन्दै आपत्ति जनाएको हो ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणी मनगढन्ते धारणा भएको बताएका छन् । ‘हिजो बिहानको खुमलटार भेटघाटमा रवीन्द्र मिश्रजीले आफ्ना विचारहरू राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ,’ मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्रले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन ।’

पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बरबादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भने, ‘मिश्र सर, यति सस्तो (अ)राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’

मंगलबार बिहान खुमलटारमा प्रचण्डसँग भेटेका राप्रपा उपाध्यक्ष मिश्रले आफ्ना कुरा सुनेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि आफू यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा पुगेको बताएको उल्लेख गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डले राजा महेन्द्र गज्जबका भिजनरी राजा रहेको आफूले पाएको पनि बताएको मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *