नेपालको भौगोलिक अवस्था अनुसार रेलमार्ग, हवाई यातायात तथा पोडवेको महत्त्व छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगको क्षेत्रमा नेपालले काम गरिरहेको बताएका छन् ।

चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताए ।

उनले नेपालको भौगोलिक अवस्था अनुसार सडक सञ्जालको अतिरिक्त रेलमार्ग, हवाई यातायात तथा आधुनिक पोडवेको महत्त्व रहेको उल्लेख गरे । उनले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्ने आवश्यक रहेको बताए ।

उनले यातायात पूर्वाधार विकासबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रतिस्पर्धी बन्दै जाने, स्वदेशी उत्पादनले मुलुकभित्र तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच प्राप्त गर्ने धारणा राखे ।

उनले व्यवस्थित सहरीकरण तथा बस्ती विकाससहित सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नमा पनि योगदान पुग्ने बताए । साथै वातावरणमैत्री एवं दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको जानकारी दिए ।

उनले यसका लागि सम्बन्धी पूर्वाधार निर्माणका कार्य अगाडि बढाइएको र मुलुकभित्रै विद्युतीय सवारीसाधनको उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी आकर्षित गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *