विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक

कास्की । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताएका छन् ।

कास्कीको पोखरास्थित पुरानो पोखरा विमानस्थलमा विश्वखाद्य कार्यक्रम (डब्लुएफपी)ले निर्माण गरेको आपत्कालीन गोदाम घरको उद्घाटन कार्यक्रममा बुधवार उनले विपद्मा मिलीजुली अगाडि बढ्नुपर्ने बताएका हुन् ।

मौसमको खराबीका कारण पोखरा आउन नसकेपछि गृहमन्त्री लेखकले गोदामघरको भर्चुअल रुपमा उद्घाटन गरेका थिए ।“विपद् व्यवस्थापनको कार्यमा हामीले एकअर्कालाई सहयोग गर्नका लागि मिलीजुली अगाडि बढ्नुपर्छ”, उनले भने, “यस कार्यका लागि तीनैतहका सरकार, विकास साझेदार निजी क्षेत्र र मानविय सहायताका क्षेत्रमा काम गर्ने सङ्घसंस्था पुनःस्थापना, पुनःनिर्माणको चरणमा एक भएर अघि बढौँ । सम्भावित क्षति न्यूनीकरणका लागि हातेमालो गरौँ ।”

जलवायु परिवर्तनबाट सिर्जित नकरात्मक प्रभावले गर्दा नेपालमा क्षतिको परिणाम बढ्दै गृहमन्त्री लेखकले बताए । “सबैखालका प्राकृतिक एवं मानव सिर्जित विपद्को सामना गर्न पूर्वतयारीको आवश्यकता पर्दछ,” उनले भने, “पूर्व तयारीस्वरुप पछिल्लो आपतकालिन अवस्थामा विकास साझेदारका साथीहरूले सहयोग गर्दै आउनुभएको छ ।”

सरकारले आपतकालिन गोदामघर व्यवस्थापन कार्यविधि जारी तयारी गरिरहेका उनले बताए । पोखरामा गोदाम घरमा स्थापनापछि तीन तहको सरकार, मानवीय सहायता कक्षमा कार्य गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू भण्डारण र वितरणमा जवाफदेही बन्नेमा उहाँले विश्वास व्यक्त गरे । यसका लागि सरकारले जारी गर्न लागेको कार्यविधिले धेरै सहयोग गर्ने गृहमन्त्री लेखकले सुनाए ।

गृहमन्त्री लेखकले वक्तव्य दिएर भर्चुअल रुपमा गोदामघरको उद्घाटन गरेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताम्रपत्र अनावरण गरेका थिए । मुख्यमन्त्री पाण्डेले प्रदेशले विपद् व्यवस्थापन कोष सञ्चालन गर्दै आएको जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्दै राहत तथा उद्धारमा एकद्वार नीति अवलम्बन गर्दै आएको उनको भनाइ थियो ।कार्यक्रममा नेपालका लागि युरोपियन युनियन (इयु)का राजदूत भेरोनिक लोरन्जोले विपद् जोखिमबाट हुने आपतकालिन अवस्थामा पोखरामा स्थापना गरिएको गोदामघर सहयोगी बन्ने धारणा राखे ।

“पोखरा हिमालयले जती सुन्दर छ । त्यति नै जोखिम पनि छ”, उनले भने,“जोखिमबाट हुने आपत्कालीन अवस्थामा गोदामघरले सघाउनेछ ।”युरोपियन युनियन नेपालको विपद्जन्य घटनामा सधैँ साथ र सहयोग गर्न तयार रहेको राजदूत लोरेन्जोले बताउनुभयो । यसका लागि डब्लुएफपीका माध्यमबाट अघि बढिरहेको उनले सुनाए ।

युरोपियन युनियनको एक लाख ६१ हजार अमेरिकी डलरको सहयोगमा बनेको उक्त केन्द्रको गत चैतमा कास्कीका तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले शिलान्यास गरेका थिए । उक्त केन्द्रका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले चार रोपनी जग्गा उपलब्ध गराएको थियो ।

गोदाम घरमा राहत सामग्री, उद्धारका उपकरण, खाद्यान्न, जेनेरेटरलगायत सामग्री राखिएको गोदाम घर पोखराका बन्दोबस्ती सम्पर्क व्यक्ति रतिन्द्र खत्रीले बताए । गण्डकीमा आइपर्ने मानवीय सङ्कटका बेला यो गादाम घर उपयोगी हुने उनको भनाइ छ ।

विपद्को समयमा सङ्कलन हुने राहत सामग्रीको अभिलेख राख्ने, सहजीकरण गर्ने र उद्धार एवं राहत वितरणलाई छरितो बनाउनका लागि गोदाम घरमार्फत काम हुने खत्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *