स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृतमा घिमिरे नियुक्त
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् ।
प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले आज मात्रै कम्पनीका अध्यक्ष रविन कुमार नेपाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको थियो ।
बैंक अफ एशिया (हालको एन आई सी एशिया बैंक) बाट आफ्नो बैकिङ्ग करियर सुरुवात गरेका घिमिरे यस भन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिसको रुपमा कार्यरत थिए । बैंकिङ्ग तथा डिजिटल भुक्तानी (कार्ड ,क्युआर मोबाइल बैंकिङ्ग) इत्यादि मा १५ वर्ष भन्दा लामो अनुभव भएका घिमिरेको कार्यदक्षता, अनुभव र लगनशीलताले कम्पनीलाई अझै उचाइमा लैजाने विश्वास लिएको कम्पनीका अध्यक्ष नेपालले बताए ।
डिजिटल भुक्तानीको क्षेत्र वृद्धि हुने क्रममा रहेको र SCT ले यो क्षेत्रमा पुर्याउन सक्ने योगदान धेरै रहेकोले आफू SCT को प्रमुख कार्यकारी अधिकृत भएर काम सुरु गर्न पाएकोमा निकै उत्साहित रहेको नवनियुक्त कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।
विगत २० वर्ष देखि डिजिटल भुक्तानीमा सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले भुक्तानी कार्ड, क्युआर, मोबाइल बैंकिङ्ग र अन्तर बैंक भुक्तानीका सेवाहरू प्रदान गर्दै आई रहेको छ ।