उच्च सतर्कता अपनाउन सुझाव

भीषण वर्षाले बढ्यो बाढी-पहिरोको जोखिम, यी ४२ जिल्लामा रात्रिबस चलाउन रोक

काठमाडौं । देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा आज र भोलि रात्रिबस चलाउन रोक लगाएको हो ।

प्रतिकार्य कमाण्डका संयोजकसमेत रहेका गृहका सहसचिव भीष्मकुमार भुसालका अनुसार यो अवधिमा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने रात्रिबस पनि शुक्रबार र शनिबार नचल्ने बताए । ‘धेरै पानी पर्ने भनेर मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा रेडअलर्ट जारी गरेको छ, त्यहाँबाट (तराईबाट पहाडी क्षेत्रमा भए पनि) रात्रि बस चल्ने छैनन्, सिमलताल घटनापछि यातायात व्यवसायीसहित सरोकारवाला बसेर गरेको निर्णय हो,’ भुसालले भने, ‘नियम उल्लंघन बारे जिल्ला प्रशासन, ट्राफिकले अनुगमन गर्छन् ।’

रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले रात्रि बस नचलाउने निर्णय भएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् ।

त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ ।

प्राधिकरणले आगामी आइतबारसम्म धान नकाट्न अनुरोध गरेको छ भने काटिसकेको भए भित्र्याउन भनेको छ । त्यस्तै, तराई र मधेशमा सकेसम्म भूइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *