सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तिब्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।
शुक्रवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरू मनाउँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पुर्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।
चाडपर्वहरूमा आम नागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न एमालेले माग गरेको छ । नेकपा एमालेको तर्फबाट केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरूबारे घच्घच्याएकोमा खुशी प्रकट गरे ।
उनले सरकारको तर्फबाट नागरिकलाई सेवा पुर्याउने काममा कुनै कमजोरी नगर्ने प्रतिबद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताए ।
उनले भने, ‘नेपाल सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरूलाई सम्झाउन र घच्घच्याउनका लागि तपाईंहरुले पत्र दिनुभएको छ । यो प्रोसेसमा सरकारको तर्फबाट प्रक्रिया अघि बढाउने काम हामी गर्नेछौँ । यात्रामा सहज होस्, बाटोघाटो सहज होस् भन्नुभएको छ । हाम्रो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यु खाल्डो पुर्ने भनेर लागिरहनुभएको छ । स्पेशल बस सर्भिसको लागि यातायाता व्यवसायीहरूसँग कुरा गरेर काम भइरहेको छ । बजारमा गुणस्तरयुक्त सामग्री र खाद्यान्नमा निरीक्षण र अनुगमन गर्ने कुरामा हामी लागेका छौँ ।’
ज्ञापनत्र बुझाउने क्रममा नेकपा एमालेका नेता एवं केन्द्रिय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले नेपाली जनताका महान् पर्वहरू विजया दशमी, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडहरू धमाधम आइरहेको भन्दै जनताले धुमधामसँग मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए ।
दशैँ र तिहारमा संघीय राजधानी काठमाडौंबाट र देशका मुख्य शहरहरुबाट अत्याधिक रुपमा गाउँ फर्किने भएकाले तत्काल सडक मर्मत गर्न आग्रह गरे । यातायातको साधन अभाव हुन नदिन वैकल्पिक उपायको समेत बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराए । सुरक्षा प्रबन्धको निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनको निम्ति ट्राफिकको यथोचित परिचालन गर्न पनि माग गरे ।
एमालेले चाडवाड मनाउन गाउँ फर्किनेहरूका लागि यातायातको सहज व्यवस्थापन गर्न, सडकका होटलहरुमा पाइने खाना खाजाहरू स्वस्थ एवं गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन र चाडपर्वहरूमा हुनसक्ने कालोबजारी र महंगी आदिको नियन्त्रण गर्न तथा गुणस्तरीय र सुपथ मूल्यका पसलहरू देशभर जनपहुँचका ठाउँहरूमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।