ठूलो भीड छैन दसैँको अग्रिम टिकट काट्नेको (तस्बिरहरु)

काठमाडौं । सरकारले शनिबारबाट दसैँका लागि लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

घटस्थापनाको पाँच दिनअघि सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रु पुगेका थिए । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको चाप बढी देखिन्थ्यो ।

तर अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष ठूलो भिडभाड भने देखिएका छैन । शुक्रबारदेखि नै मुलुकको संघीय राजधानी काठमाडौँसहित देशभर परेको अविरल वर्षाका कारण अग्रिम टिकट बुकिङ प्रभावित भएको हुनसक्ने बताइन्छ ।

सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण यात्रुलाई मर्का परेको बताए । उनले आज पनि राजमार्ग हुँदै सार्वजनिक यातायात आवतजावत गर्ने परिस्थिति नहरेको उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गरे । ‘राजमार्ग बिग्रिएका कारण काठमाडौँ आवतजावत गर्न सार्वजनिक सवारीसाधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन,’ उनले भने ।

सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेपनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *