दिशामा पाइने सूक्ष्मजीव ११ ब्रान्डका पानीमा भेटियो

काठमाडौं । काठमाडौँमा उत्पादन भइरहेका बिभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेटिएको छ ।

पानीमा फिकल कोलिफर्म भेट्टाएपछि काठमाडौं महानगरपालिकाले ११ वटै ब्राण्डका पानी विक्री वितरणमा रोक लगाएको छ ।

विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ ।

यस्तै कोलिफर्म भेटिएको पानीको नमूना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शून्य देखिएपछि विक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ ।

भदौ १२ गतेदेखि २८ गतेका बिचका विभिन्न दिनमा विभिन्न स्थानहरूबाट २० वटा पानीको नमूना लिइएको थियो । यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो ।

यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्ड विपरीत देखिएको हो । कोलोनी फर्मिङ् युनिट (सिएफयु) सुक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो ।

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्ड अनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । फिकल कोलिफर्म दिसामा पाइन्छ । दिसामा पाइने सूक्ष्मजीव पानीमा भेटिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *