विचार

कुमाख युवा आन्दोलनको सन्देश

नेपालको संविधान २०७२ ले संघ, प्रदेश र स्थानीय तह गरि तिन तहको सरकारको परिकल्पना गरेको छ । संविधानतः संघ, प्रदेश र स्थानीय तहलाई अधिकार र कार्यक्षेत्र तोकिएको छ । राज्य शक्तिको समुचित प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्ने गरी स्थानीय तहको एकल अधिकारको सूचि तथा तीनै तहका सरकारका साझा अधिकारको सूचि संविधानको अनुसूचि ८ र ९ मा उल्लेख गरिएको छ । संविधानले मुख्यतः जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै आर्थिक समानता कायम गर्न भनेको छ । समृद्वि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्वान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने अवधारणा संवैधानिक रुपमा अघि सारिएको छ ।

हरेक स्थानीय तहले संवैधानिक व्यवस्था तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को मर्म बमोजिम आफ्ना कामकारवाही जनहितकर हुनेगरी कार्य गर्नुपर्नेमा प्रायःस्थानीय तहमा जनप्रतिनिधिहरु राजनैतिक तथा व्यक्तिगत स्वार्थमा बढि केन्द्रित रहदा अपेक्षाकृत रुपमा जनताले सरकारका सार्वजनिक सेवा प्रवाह बाट लाभ लिन सकिरहेका छैनन् । पछिल्लो समय सल्यानको कुमाख गाउँपालिका पनि यस्तै राजनैतिक खिचातानिकै बिचमा गुज्रिरह्यो । अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्षहरु फरकफरक राजनैतिक दलबाट निर्वाचित भएर सरकार सञ्चालनको अभ्यासको दौरान सहमति हुन नसक्दा सार्वजनिक सेवा प्रवाह प्रभावित हुँदै आइरहेको छ । यसका अतिरिक्त सार्वजनिक सेवा प्रवाहमा गति लिन नसक्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदो रहेको छ भने मानव विकास सुचकांक पनि खुम्चदो अवस्थामा छ ।

कुमाख गाउँपालिकाले विभिन्न विषयगत क्षेत्रसँग सम्बन्धित विषयमा स्वमूल्याङकन गर्दै यहाँका सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष, अवसर र चुनौतीको हालसम्मको अवस्थाको विश्लेषण गरी भावि रणनीति कार्यन्वयन गर्दै लिनुपर्नेमा, पालिका अनिश्चयको मार्ग पछ्याइरहदा सार्वजनिक सेवाप्रवाहमा अपेक्षित नागरिक सन्तुष्टि र लाभ प्रदान गर्न सकिरहेको छैन । विगतमा हामी कहाँ थियौँ, हाम्रो अवस्था कस्तो थियो, के के कमजोरी रहेका छन् पहिचान गरी आफ्ना कार्यनीतिमा बदलाव ल्याएर सुधार गर्नुपर्नेमा कुमाख गाउँपालिकाले विगत केहि समय देखी नागरिकस्तरबाट अपेक्षाकृत कार्य र प्रदान गरिएका सुझावहरुको समेत वेवास्ता गर्दा पछिल्लो समय कुमाखमा युवाहरुले चरणवद्व आन्दोलन गर्नुपर्‍यो ।

कुमाख गाउँपालिकामा विगतदेखी सरकारका कामकारवाही तथा सेवा प्रवाहमा नागरीकमैत्री हुन नसकेका, धेरै झन्झटिला भएका,पालिकाले नीति संवत् काम नगर्दा सार्वजनिक शिक्षा र स्वास्थ्यको अवस्था खराव रहेको भन्दै व्यापक गुनासो गरिरहेका थिए । यसै विषयमा युवाहरुले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई नागरिकका विभिन्न खाले समस्या समाधानका लागि सजग गराउँदा गराउँदै व्यापक वेवास्ता गर्दा युवाहरुले आफ्ना आन्दोलनका कार्यक्रमलाई अगाडी बढाए । कुमाखका युवाहरुले चरणवद्व रुपमा गरेका शान्तिपूर्ण आन्दोलनलाई सत्ता र शक्तिको आडमा दवाउने र आन्दोलनरत युवाहरुबिचमा गलत अफवाह फैलाएर तितरबितर पार्ने अनेकौँ प्रयासहरु भएता पनि गलतका विरुद्व युवा आन्दोलनमा दिनदिनै नागरिकस्तरबाट समर्थन प्राप्त हुदै गएपछि अन्ततः पालिका युवाहरुले उठाएका एजेण्डा कार्यन्वयन गर्न सहमतिमा आयो ।

आन्दोलनरत युवाहरुसँग कुमाख गाउँपालिकाले वार्ताका लागि पालिकाको तर्फबाट अध्यक्षको संयोजकत्वमा वार्ता टोलि गठन गरेर वार्ता/संवादको प्रस्ताव गरेपछि युवाहरुको तर्फबाट युवराज खड्काको संयोकजकत्वमा ५ सदस्यीय वार्ता टोलि गठन गरी मिति २०८१/६/९ गते दुवै पक्ष वार्तामा बस्यौँ ।

मिति २०८१/६/९ गते कुमाख गाउँपालिकाका अध्यक्ष मान व. बुढाथोकीको अध्यक्षतामा सुरु भएको वार्ताद्वारा निम्म बमोजिम गर्ने गरी युवाहरुले उठाएका सुशासन र सार्वजनिक सेवा प्रवाह सुधारका विषयमा सहमति भयो ।

१) कुमाख गा.पा.मा प्रमुख प्रशासकीय अधिकृतको रुपमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा कामकाजमा खटाइएका कर्मचारिलाई मिति २०८१/०६/१५ गतेभित्र यस कार्यालयमा सहज रुपमा हाजिरी गराई कामकाजमा लगाउने । साथैयस कार्यालयको दरबन्दीमा कामकाजमा आएका र आउने कर्मचारिलाई सहजरुपमा पदस्थापना गराई कामकाजमा लगाउने ।

२) कुमाख गाउँपालिकाको सामुदायिक विद्यालय/शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तर अभिवृद्वि गर्न शैक्षिक नीति, योजना,रणनीती नयाँ कार्यक्रमहरु तयार गरी कार्यन्वयन गर्ने, साथै सरोकारवाला सम्मिलित एक अध्ययन समिति बनाई सोको कार्यन्वयन गर्ने।

३) कुमाख गा.पा. कार्यालय र अन्तर्गतका कार्यालयहरुको सेवा प्रवाहलाई थप सरल, सहज, र पहुँच योग्य बनाउन कार्यालयले आवश्यक अध्ययन गरी सोको कार्यान्वयन गर्ने ।

४)सामुदायिक विद्यालयका शिक्षक कर्मचारिहरुको कार्यसम्पादन मुल्यांकन सम्बन्धमा सुपरिवेक्षण(शिक्षा शाखा प्रमुख)ले कतिपय शिक्षकहरुको विगतमा सुपरिवेक्षण गर्दा बढुवामा असर परेको भन्ने गुनासो आएकाले आगामी दिनमा त्रुटिरहित बनाउन रुजु/प्रमाणित गर्ने कार्यमा विशेष ध्यान दिने ।

५) कुमाख गाउँपालिकाको गाउँसभाले जारी गरेको कुमाख गाउँपालिकाको स्थानीय युवा परिषद् ऐन–२०८१ को कार्यन्वयन सम्बन्धमा गाउँपालिकाको आगामी पहिलो कार्यपालिकाको बैठकमा ऐनमा व्यवस्था भएको प्रावधान बमोजिम समितिलाई पुर्णता दिई कार्यन्वयन गर्ने ।

६) कुमाख गाउँपालिकाको जग्गा बर्गिकरण सम्बन्धि कार्य यथाशिघ्र कार्यन्वयनमा लैजाने।

७) कुमाख गाउँपालिकाको १६ औँ गाउँसभाबाट पारित वार्षिक वजेट तथा कार्यक्रम बाट आगामी १७ औँ गाउँसभाबाट आवश्यकताका आधारमा विभिन्न शिर्षक/कार्यक्रममा बजेट बिनियोजित गरी कार्यन्वयनमा लैजाने ।

८) मिति २०८१/०६/०६ गते कुमाख गा.पा. का विभिन्न युवा प्रतिनिधि हरुले आन्दोलनको क्रममा गाउँपालिकाका कर्मचारि/जनप्रतिनिधि प्रति गरिएको व्यवहार प्रति क्षमायाचना गर्ने र कर्मचारिहरुले लगाएको अभद्र व्यवहार मुद्वा फिर्ता लिने । आगामी दिनमा यस किसिमका आन्दोलन तालाबन्दी तोकिएको समयमा भए नगर्ने लगायतका सहमतिहरु भए ।

माथि उल्लेखित सहमति मध्ये पहिलो बुदाको प्रमुख प्रशासकीय अधिकृतको असोज १५ भित्र कुनै पनि रुपमा पदबहाली गरी सहज रुपमा कामकाजको व्यवस्था गरिनुपर्ने भन्ने कार्यन्वयनमा आइसकेको छ, भने अन्य विषयहरु क्रमशः यथासक्य कार्यन्वयनमा लैजाने सहमति भएको छ । उल्लेखित सहमतिहरुमा युवा आन्दोलनमा महत्वपुर्ण उपलब्धिको रुपमा राष्ट्रको कुल जनसंख्याको करिब ४२.४६ प्रतिशत जनसंख्या ओगट्ने १६–४० वर्ष उमेर समुहका सक्रिय जनसंख्याको राज्यको मूलधारमा उपस्थिति जनाउन तथा शासकीय स्वरुपमा युवा मैत्री शासन व्यवस्था सञ्चलनार्थ कोसेढुङ्गा सावित मानिएको युवाहरुका सवालहरु सम्बोधन गर्ने, युवा रणनीति तय गर्ने, युवा शसक्तिकरण, सिप विकास, क्षमता विकास, युवा परिचालन तथा उद्यमशिलता जस्ता विषय सम्बोधन गर्न कुमाख गाउँ पालिकाको पछिल्लो १६ औँ गाउँ सभाबाट स्थानीय युवा परिषद् गठन सम्बन्धि विधेयक –२०८१ पास भई स्थानीय राजपत्रमा समेत सर्वसाधारणको जानकारीका लागि प्रकाशित भईसकेको छ । यो युवा आन्दोलनको दिगो उपलब्धिको रुपमा रहेको छ ।

यसका अतिरिक्त कुमाखमा युवा आन्दोलनको ठुलो प्रभाव र उपलब्धिको रुपमा कुमाख गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्वि गर्न स्थानीय नागरिक, शिक्षक, पालिकाका कर्मचारी, विज्ञ तथा शैक्षिक सुधारको क्षेत्रमा निरन्तर काम गरिरहेका सरोकावाला सम्मिलित ञगाउँ शिक्षा सुधार समितिझ गठन गरी विस्तृत रुपमा शिक्षाको तत्कालिन अवस्था र भावि रणनीति सहितका विषयहरुको सम्बोधन हुने गरी समितिले तयार गरेको गाउँ शिक्षा सुधार प्रतिवेदन कुमाख गाउँपालिकाले कार्यन्वयनमा तिव्रताका साथ लैजाने सहमति भएको छ ।

यसको सफल कार्यन्वयनका लागि नागरिकस्तरबाट निरन्तर रुपमा निगरानी रहिरहने छ।यसम पालिकाले आवश्यकता बोध गरेमा नागरिकस्तरबाट पुर्ण रुपमा सहयोग, समन्वय, सहकार्य र साझेदारी रहने छ। आशा गर्छौँ शैक्षिक क्षेत्रमा यसले सुधारको थालनी गर्ने छ ।

यसरी पछिल्लो चरणमा स्थानीय तहको मनोमानी र स्वेच्छाचारी भावनाको अन्त्य गर्न, सरकारलाई नागरिकका सेवा प्रवाह, सुशासन, जवाफदेहिता अभिवृद्वि गर्न सरकार जिम्मेवार भएन भने कुमाखमा जस्तै युवा आन्दोलनको स्वरुपहरु देशैभरी देखिन सक्छन् र यसरी नागरिक खवरदारी बढ्दा लोकतन्त्रलाई समेत मजबुत बनाउन सकिन्छ ।

स्थानीय तहले नागरिक जनगुनासो तथा जनचाहानालाई वेवास्ता गर्दै जादा उनिहरु संविधान एव् कानुन प्रद्वत्त अधिकार प्राप्तिका लागि संघर्षका लागि तयार रहन्छन् । कुमाख सुशासन र नागरिक ईच्छा बमोजिमको शासन सञ्चालनार्थ युवाहरुले देखाएको तगारुकताका लागि हार्दिकता पुर्वक धन्यवाद दिन चाहान्छु । सरकारको मनोमानी तवरले कामकाज गरेमा नागरिक स्तरबाट विधि र पद्वत्ति स्थापनाका लागि जुनसुकै प्रकारको संघर्ष गर्न तयार हुन्छन् भन्ने सन्देश युवा आन्दोलनले प्रवाह गर्न खोजेको छ ।

युवराज खड्का/कुमाख– ६ सल्यान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *