यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे

काठमाडौं । यात्रुको चाप बढेपछि विमान कम्पनीहरूले सस्तो दरका टिकट बिक्री गर्न छाडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ । यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचना भएको छ ।

बाढीपहिरोका कारण अहिले विभिन्न जिल्लाबाट काठमाडौँ आउने मुख्यराजमार्ग अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्पमा रहेको हवाई उडानको भाडादरमा उल्लेख्य वृद्धि भएपछि आलोचना भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने बताए ।

‘विमान कम्पनीहरूले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार विमान कम्पनीले भाडा निर्धारण गर्ने चलन छ’, उनले भने । उनले विमान कम्पनीलाई यात्रुलाई राहत हुने गरी हवाई भाडा लिन आग्रह समेत गरिएको बताए ।

वायुसेवा सञ्चालक सङ्घ नेपालका अध्यक्ष मनोज कार्कीले विपद्मा नागरिकको यात्रालाई सहज बनाउन आफूहरू लागेको दाबी गरे । उनले भने, ‘हवाई भाडादरको माथिल्लो शुल्क नलिनका लागि आजै बैठक बसेर कम्पनीहरूलाई भनिसकेका छौँ, अहिले सस्तो दरमा मात्रै टिकट बिक्री भइरहेको छ ।’

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले नियमित दरमै टिकट उपलब्ध गराइरहेको दाबी गरे । ‘सिटको उपलब्धताको आधारमा टिकट बिक्री गरिरहेका छौँ, सरकारले तोकेको दरभन्दा बढी रकम लिएका छैनौँ’, उनले भने ।

काठमाडौँ–विराटनगरको एकतर्फी सात हजार पाँच सय बिक्री भइरहेको अवस्थामा विमान कम्पनीहरूले बढाएर नौ हजार नौ सय पु¥याएको जनाइएको छ । साथै काठमाडौँ–धनगढीको एकतर्फी भाडा १७ हजारसम्म निर्धारण गरिएको छ ।

हाल काठमाडौँ प्रवेश गर्ने मुख्य नाकामा सडक अवरुद्ध छ । यस्तो अवस्थामा यात्रुहरूसँग हवाई उडानको विकल्प छैन । काठमाडौँ भित्रने धादिङ्को झ्याप्ले खोलामा पहिरो खस्दा यातायात अवरुद्ध छ ।

काठमाडौँबाट तराई जोड्ने विपी राजमार्गको रोशिखोलालगायत स्थानमा पहिरोले सडक बगाएपछि काठमाडौँ आवतजावत गर्ने सवारी साधन रोकिएका छन् ।

हाल देशभरका ४१ राजमार्गमा ६४ स्थानमा सडक अवरुद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुनीलबाबु ढकालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *