अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ : मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र र स्रोतसाधन प्रयोगगरी अवरुद्ध सडक खुलाउनका लागि तदारुकताका साथ काम भइरहेको जानकारी दिए । उनका अनुसार वर्षाका कारण आएको बाढी–पहिरोसहित डुबानका कारण देशभर ४१ वटा सडकको ६४ स्थानमा अवरोध भएको छ ।

उनले भने, ‘काठमाडौँ उपत्यका जोड्ने सडकमा सामान्य क्षति भएका स्थानमा मर्मतगरी आजै अबेरसम्म यातायात सञ्चालनमा ल्याउन निर्देशन भएको छ । मन्त्रालयले राष्ट्रिय महत्वका राजमार्गसहित बढी क्षति भएका सडकको अवरोध हटाई यातायात सञ्चालन गर्ने कामलाई मन्त्रालयले प्राथमिकता दिएको प्रवक्ता ढकालले बताए । उनका अनुसार बाढी–पहिरोबाट छ वटा पुल पूर्ण रुपमा क्षति भएको छ ।

बाढी–पहिरोबाट क्षति भएका सडक विभाग मातहतका आयोजनालाई जतिसक्दो चाँडो मर्मत गरी सञ्चालन ल्याउने र त्यो सम्भव नभएको अवस्थामा वैकल्पिक उपायसमेतका लागि कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिइसकेको छ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले खाल्डाखुल्डीसहित बढी विगिएको काठमाडौँस्थित नागपोखरी क्षेत्रको सडक र उपत्यकाभित्रका नदी किनारका बढी प्रभावित करिडोर सडकमा यातायात सहज रुपमा सञ्चालनमा केही समस्या रहेको प्रतिक्रिया दिए । करिडोर सडकमा खोलाबाट पसेको हिलो पन्छाउने काम तदारुकताका साथ भइरहेको छ ।

उनले भने, ‘काठमाडौँ उपत्यका प्रवेश गर्ने कुनै पनि नाका खुलेको छैन । बिपी राजमार्गको काभ्रेभञ्ज्यङ खण्डमा सडक भत्किएको छ भने दोलालघाटतर्फ जाने सडक पनि सञ्चालनमा छैन ।’

पृथ्वीराजमार्गको झ्याप्ले खोलालगायत बाहिरका सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको छ । सुरुआती समयमा एक सय स्थानमा सडक अवरुद्ध भएकामा अहिले करिब ४० स्थानमा खुलाइसकिएको छ ।

समग्रमा उपत्यकाभित्रको सवारी व्यवस्थापनमा अहिले असहज अवस्था नरहेको बताउँदै प्रवक्ता ढकालले आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरी युद्धस्तरमा खटिएर देशभरको सडकमा यथासक्य छिटो यातायात सञ्चालन गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *