बाढीले काबेली करिडोर प्रसारण लाइनमा क्षति,१ सय ८५ मेगावाट विद्युत उत्पादन बन्द

काठमाडौं । गत बिहीबारदेखी परेको अविरल वर्षाका कारण आएको बाढीले काबेली करिडोर १ सय ३२ केभी प्रसारण लाइनमा क्षति पुर्‍याएको छ । इलामको माई नदीमा आएको बाढीले ४ वटा टावरमा क्षति पुर्‍याएको हो ।

बाढीले प्रसारण लाइनमा क्षति पुर्‍याएपछि ताप्लेजुङ,पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुको करिब १ सय ८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रुपमा १ सय ८० देखी १ सय ८५ मेगावाटसम्म विद्युत् प्रवाह हुने गरेको थियो ।

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने विभिन्न नम्बरका टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको हो । चारवटा टावरमध्ये बाढीले दुई वटा टावरलाई पूर्ण रुपमा क्षति पुर्‍याएको छ ।

५१ र ५२ नम्बरका दुईवटा टावर ढलेका छन् । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको छ । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको हो ।

नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीड महाशाखाको टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षतिको जानकारी लिएको छ । महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताए ।

प्रमुख खड्काले काठमाडौंबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञ समूह तथा पाँचथरमा रहेको सर्वे टोली सोमबारसम्ममा फिल्डमा पुग्ने र अवलोकनपछि प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *