विपद्जन्य घटनाबाट १ सय ७० जनाको मृत्यु

काठमाडौं । सरकारले विपद्जन्य घटनाबाट १ सय ७० जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालयले आइतबार राति पत्रकार सम्मेलन गर्दै बिहीबारदेखिको वर्षासँगै आएको बाढी पहिरोबाट १ सय ७० जनाको मृत्यु भएको जानकारी दिएको छ । साथै ४२ जना बेपत्ता र १ सय ११ जना घाइते भएको पत्रकार सम्मेललनमा जानकारी गराइएको छ ।

खोज तथा उद्धार र राहतका लागि सबै सुरक्षा निकायहरू परिचालित भई हालसम्म करिब चार हजार विपद् प्रभावितहरूको उद्धार गरिएको प्रवक्ता ऋषिराम तिवारीले बताए ।

विभिन्न जिल्लाबाट विपद्का कारण घाइते भएका र अलपत्र परेका १ सय ६२ जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको उल्लेख गर्दै खाद्यान्न लगायतका आपत्कालीन राहत सामाग्रीहरू उपलब्ध गराइएको समेत उनले बताए ।

उनले भने,‘२०८१ असोज १० गतेदेखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाहरबाट हालसम्म प्राप्त विवरणअनुसार १७० जनाको मृत्यु, ४२ जना बेपत्ता भएका छन् भने १११ जना व्यक्तिहरु घाइते रहेको अवस्था छ । मन्त्रालय मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । विपद्बाट प्रभावितको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायहरु परिचालन भइ निरन्तर कार्य गरिरहेका छन् । हालसम्म ४ हजार विपद्प्रभावितको उद्धार गरिएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर, लगायतका जिल्लामा विभिन्न स्थानहरुबाट विपद्बाट घाइते भएका र अलपत्र परेका १६२ जना नागरिकहरुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्नुका साथै खाद्यान्न साथै आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ । घाइतेहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको छ । खोज तथा उद्धार र राहतको कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइनेछ । सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध राजमार्गहरु तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको छ । त्रिभूवन राजमार्गको थानकोट नौबिसे खण्डको झ्याप्ले खोलामा अवरोध हटाइ आजैबाट यातायात सञ्चालन गर्नेगरी पहल भएको छ ।’

उनले सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध राजमार्गहरु तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको बताए । उनका अनुसार घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *