बाढी पहिरोबाट बागमती प्रदेशका १० जिल्लामा १ सय २ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं । भनिन्छ, विपद्को कुनै सीमा र समय हुँदैन, यो जतिबेला जहाँ पनि आउन सक्छ । त्यसैले सचेत हुनु नै उपयुक्त हुन्छ । हिजो यस्तै अकल्पनीय घटना भयो, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरमा ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) क्याम्पमा प्रशिक्षण लिने र होस्टेलमा बसेर विद्यालयमा अध्ययन गर्दै आएका ४० जना विद्यार्थीमध्ये मकवानपुरको हेटौँडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बाराको निजगढका विकल रेग्मी, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी होस्टेलबाट सुरक्षित स्थानतर्फ जाने क्रममा अचानक माथिबाट पहिरो खस्दा बेपत्ता भए ।

बेपत्ता विद्यार्थीको खोजी गर्ने क्रममा शनिबार साँझ ती सबै छजना विद्यार्थीको शव प्रहरीले फेला पा¥यो । पढाइ र फुटबल खेलको माध्यमबाट आफ्नो र देशको भविष्य खोज्दै हिँडेका छजना विद्यार्थीको मृत्युपश्चात् धेरै शोकमग्न छन् । मृत्यु भएका छजनाको शवपरीक्षणका लागि हिजो साँझ नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको थियो ।

शवपरीक्षण सकिएलगत्तै हेलिकप्टरबाट विद्यार्थीहरुको शब हेटौँडा ल्याएर अन्त्येष्टिका लागि परिवारजनलाई बुझाइने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । “बाढी पहिरोका कारण काठमाडौँसम्म पुग्ने अधिकांश बाटो अवरुद्ध छ, यस्तो बेला हामीले नै मृतक विद्यार्थीको शव हेटौँडा ल्याएर परिवाजनलाई बुझाउने तयारी गरेका छौँ”, उनले भने,“भोलि बिहान हेलिकप्टरबाट शव बागमती प्रदेश प्रहरी कार्यालयको मैदानमा ल्याउने गरी तयारी भएको छ, त्यसपछि अन्तिम संस्कारका लागि परिवारजनलाई बुझाउँछौँ ।” मृतकमध्ये अनुपम घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानका छोरा हुन् ।

यस्तै विपद् आइलाग्यो धादिङको झ्याप्ले खोलामा । गोरखाबाट काठमाडौँका लागि हिँडेको यात्रुवाहक बस पृथ्वीराजमार्गको नागढुङ्गा–नौबिसे सडकअन्तर्गत झ्याप्ले खोलामा पहिरोले पुरिएका ३५ जनाको शव निकालिएको छ ।

पहिरो हटाउने क्रममा प्रहरीले शव फेला पारेको हो । मकवानपुर र धादिङमा मात्र होइन, अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागमती प्रदेशको काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा एक सय दुई जनाको मृत्यु भएको छ ।

यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकामध्ये हालसम्म एक सय दुई जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीकानुसार सबैभन्दा बढी धादिङ र काभ्रेमा जनधनको क्षति भएको छ भने सबैभन्दा कम क्षति चितवनमा भएको छ ।

धादिङमा बाढीपहिरोबाट मृत्यु भएकामध्ये हालसम्म ३९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । धादिङपश्चात् काभ्रेमा पनि धेरै जनधनको क्षति भएको छ ।

काभ्रेमा हालसम्म बाढीपहिरोबाट मृत्यु भएकामध्ये ३८ जनाको शव प्रहरीले फेला पारेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । उनका अनुसार काभ्रेमा अझै पहिरोमा बेपत्ता भएकामध्ये आठजनाको शव निकाल्ने प्रयास भइरहेको छ ।

मृतकको सङ्ख्याका आधारमा सिन्धुपाल्चोक बागमती प्रदेशमा बढी जनधनको क्षति भएकामध्ये तेस्रो हो । यहाँ हालसम्म बाढीपहिरोबाट १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै बाढीपहिरोमा परी मकवानपुरमा सात, दोलखामा पाँच, सिन्धुलीमा दुई र रामेछापमा एकजनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी घाइते हुनेको सङ्ख्या काभ्रेमा धेरै छ । यहाँ ४२ जना घाइते हुँदा सिन्धुपाल्चोकमा १६, धादिङमा सात, मकवानपुरमा तीन, दोलखामा दुई र नुवाकोटमा एकजना घाइते भएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

बाढी पहिरोजन्य विपद्बाट काभ्रेमा १८, दोलखामा दुई, सिन्धुपाल्चोकमा दुई र धादिङमा एकजना बेपत्ता रहेका प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजी तथा उद्धार गर्न प्रदेशभर चार हजार ११९ प्रहरी परिचालन गरिएका छन् । विभिन्न जिल्लाका दुई सय ४७ परिवारका तीन सय १७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *