बाढीबाट इमाडोलका उद्योगहरुमा करोडौँको क्षति

ललितपुर । अविरल वर्षासँगै आएको बाढीले यहाँको ललितपुर महानगरपालिका–२, इमाडोल क्षेत्रमा ठूलो परिमाणमा क्षति पुर्‍याएको छ ।यस क्षेत्र भई बग्ने खोला छेउका घर, पसल, कलकारखाना र बस्तीमा पानी पसेर करोडौँ मूल्य बराबरको भौतिक सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ ।

दुई दिनको वर्षापछि उर्लेर आएको भेलले ललितपुर महानगरपालिका–२ इमाडोलमा सञ्चालित ग्लोबल प्याकेजिङ इन्डष्ट्रिज प्रालिको मात्र रु एक करोड ६० लाख बराबरको धनमाल नोक्सान भएको प्रारम्भिक अनुमान छ । कारखानाका सञ्चालक राजेश श्रेष्ठका अनुसार बाढीले कच्चा पदार्थ, तयारी सामान र मेसिनहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

उनले भने,“केही मेसिनहरू पूर्णरूपमा नष्ट भएका छन् भने केही मर्मत हुने सम्भावना न्यून छ । दसैँका लागि बजार पठाउन तयार पारिएका र अन्तिम चरणका अर्डरहरूसमेत बाढीले सखाप बनायो ।”

कारखानामा २० वर्षदेखि काम गरिरहेकी लक्ष्मी प्रधानले बाढीले पुर्‍याएको नोक्सानीप्रति दुःख व्यक्त गरे । उनले भने,“कोरोनापछि बल्लतल्ल कामले गति लिँदै थियो । बेलैमा काम सकेर दसैँमा घर झापा जाने तयारीमा थिएँ तर, एकाएक पानी पसेर कारखानाका सबै सामान बर्वाद बनायो ।” पहिलोपटक आफूले यस्तो विपत्ति देखेको पनि उनको अनुभव छ ।

“पहिला अलिअलि पानी बगेर आउँथ्यो तर, यसपल्ट सामान मात्रै होइन, मान्छे नै बगाउने गरी पानी बढ्दा डर लाग्यो”, दुई वर्षदेखि काम गर्दै आएका अर्का कामदार गोकुल दुलालले भने ।

बाढीले इमाडोलमै रहेको अर्को प्रिन्टिङ प्रेसलाई पनि ठूलो नोक्सान पारेको छ । प्रेस सञ्चालक कृष्णमान श्रेष्ठ भौतिक सम्पत्तिको नोक्सानीले चिन्तित हुनुहुन्छ । करिब रु एक करोड ५० लाख बराबरको सम्पत्ति नोक्सान भएको उनले बताए ।

उनले भने,“यसअघि कहिल्यै यति ठूलो बाढी आएको थिएन । पानीले कारखाना र गोदाममा रहेका सबै सामान काम नलाग्ने बनाइदियो । भाग्यवश घर बग्नबाट भने जोगियो ।”

शनिबार बेलुकीदेखि पानीको सतह घटेपछि बाढीबाट जोगिएका पीडित अहिले आआफ्नो सरसामान स्याहार्न जुटिरहेका छन् । यहाँका बासिन्दा आवासीय घर, पसल तथा कारखानामा जमेको लेदो सफा गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *