सफलताको कथा

बस्ताकोटी दम्पतीले बनाएको बेकरी ब्राण्ड, विदेशसम्मै पुग्छ उत्पादन (भिडिओ)

काठमाडौँ । मिराज बेकरीका संस्थापक बबिता दुलाल र उपसंस्थापक योगेश बस्ताकोटी जीवन साथी मात्र होइनन्, उनीहरू बेकरी क्षेत्रमा उदाएका एक सफल व्यवसायी पनि हुन् ।

हाल उनीहरूले काठमाडौँको बौद्धमा रहेको ‘मिराज बेकरी’ मा धेरै युवाहरूलाई बेकरीको तालिम दिइरहेका छन् । नेपालको पूर्वदेखि पश्चिम महाकालीसम्मका युवाहरू त्यहाँ बेकरीको तालिम लिन आउने गरेका छन् । विशेषगरि टुरिजम क्षेत्रहरूका धेरै युवाहरू त्यहाँ देख्न सकिन्छ । यसरी बेकरी सिक्न चाहने युवाहरूका लागि बस्ताकोटी दम्पती पथप्रदर्शक हुन् ।

उनीहरूले मिराज इन्स्टिच्युटमा बेकरी सिकेका ५० औँ युवाहरूले अहिले आफ्नै व्यवसाय सुरु गरेको सुनाए ।

योगेश बस्ताकोटीका अनुसार  पहिले त उनीहरू पनि आन्टप्रेनरको रूपमा क्याफे चलाउने गर्थे । हस्पिटालिटीको ट्रेनिङ चैँ उनीहरूसँग त्यतिखेर नै थियो । आफ्नो सिपको पनि उपयोग हुने र नेपाली बजारको माग पनि पुरा गर्ने भन्ने सोचेर उनीहरूले औपचारिक रूपमा सन् २०१६ मा मिराज बेकरीको स्थापना गरे ।

मिराज बेकरीले हालसम्म कुनै व्यावसायिक विज्ञापन सञ्चालन नगरे पनि विद्यार्थीको उत्साहजनक सहभागिता देख्दा एकदमै खुसी लाग्ने उनीहरूले बताए ।

संस्थापक दुलालका अनुसार पहिले उनीहरू बेकरी खोल्ने सोचमा थिएनन् ।  दुलाल फाइनान्सको विद्यार्थी भएकीले बैंकमा नै काम गर्छु भन्ने सोचेकी थिइन् । ‘म होटल म्यानेजमेन्टको विद्यार्थी होइन । म्यानेजमेन्टको विद्यार्थी हु । फाइनान्समा मास्टर्स गरेको छु ’ उनले भनिन् ।

उनले फाइनान्समा मास्टर्ससम्म अध्ययन गरेको जानकारी दिइन् । आफ्ना श्रीमान् बस्ताकोटीकै भनाइलाई मानेर बेकरी व्यवसाय सञ्चालन गर्न आफू तयार भएको उनले बताइन् ।

उनीहरूका अनुसार मिराज बेकरी सञ्चालन गर्नुअघि दम्पतीले एउटा अन्तर्राष्ट्रिय पदको लागि अप्लाइ गरेका थिए । त्यसबेला उनीहरूसँग दुई ओटा विकल्पहरू थिए । एउटा अन्तर्राष्ट्रिय क्षेत्रमा करिअर बनाउने त अर्को नेपालमै बसेर बेकरीको व्यवसाय गर्ने ।

उनीहरूले नेपालमै बसेर बेकरीको व्यवसाय गर्ने विकल्पलाई स्वीकार गरे । उपसंस्थापक बस्ताकोटीले भने ‘हामीले त्यसलाई रिजेक्ट मिराज बेकरी सुरु गरेका हौँ ।’

श्रीमती दुलालले त्यसबेला आफूहरूलाई लगानी जम्मा गर्न नै गाह्रो भइरहेको पिडा सुनाइन् । उनले ‘हाम्रो भविष्य नै यही हो’ भनेर श्रीमान् बस्ताकोटीसँग भएको बाइक र आफूसँग भएको थोरै गहनालाई बेचेर लगानीमा प्रयोग गरेको बताइन् ।

सन् २०१६ मा साढे ३ लाख रकम लगानी गरेर बेकरीको व्यवसाय सुरु गरेको उपसंस्थापक बस्ताकोटीले बताए । उनले उक्त लगानीबाट एउटा सानो कोठामा ओभन , प्लेन्टर मेसिन, र टेबल राखेर श्रीमती दुलाल सहित एकजना हेल्परसंग बेकरी उत्पादन सुरु गरेको बताए । उपसंस्थापक बस्ताकोटीले बजारको आवश्यकता बुझ्न सके सामान्य एउटा स्मार्ट फोन किन्ने पैसाले पनि बेकरीको व्यवसाय सुरु गर्न सकिने बताए ।

उनले भने ‘थोरै बजारको बारेमा यहाँले बुझ्नु भयो भने भान्छाको एउटा कुनालाई प्रयोग गरेर पनि यहाँले बेकरीको बिजनेस सुरु गर्न सक्नुहुन्छ । यसलाई एक्सपान्ड गर्नुभयो भने त करोडौँ पुग्छ ।’
उनले भान्छाको एउटा सानो कुनाबाट पनि होम बेकरी सुरु गर्न सकिने बताए ।

श्रीमती दुलालले श्रीमान् बस्ताकोटी पहिल्यै देखि किचेनमा रम्ने बताइन् । उनले आफू फाइनान्सको विद्यार्थी भएपनि सानै देखि सज्न र सजाउन भने खप्पिस रहेको सुनाइन् । त्यसरी नै बिस्तारै उनी बेकरी भन्दा पनि केक बनाउने काममा रमाउन थालिन् ।

उनले भनिन् ‘ मैले सुरुमा बेसिक कोर्स गरे । त्यसले बजारलाई चाहिने उत्पादनहरू मैले बनाउन सके जस्तो लागेन । त्यसपछि बेसिकबाट डिप्लोमा कोर्स गरे । डिप्लोमा सकेपछि सानोतिनो वर्कसपहरू, अनलाइन वर्कसपहरू जोइन गरे । दुवै जनाको क्षेत्र अलग भएपनि कोअपरेसन राम्रो भयो । हामी दुई जनाको बोन्डिङले यस काममा राम्रै प्रतिफल पायौँ ।’

बस्ताकोटीले उत्तिखेर अनलाइन प्लेटफर्म र सोसल मिडियाहरू प्रयोग गरेर बेकरी उत्पादन र बिक्री वितरणको कामलाई अगाडि बढाउँदै लगेको बताए । त्यसपछि ठुलो ठाउँको खोजीमा विभिन्न ठाउँमा बेकरीका ब्रान्चहरू पनि राखेको उनले जानकारी दिए ।

तर समय उस्तै रहेन् । उनीहरूले कोभिड १९ मा एकदमै ठूलो आर्थिक मन्दीको सामना गर्नू परेको सुनाए ।

संस्थापक दुलालले भनिन् ‘कहिलेकाहीँ चैँ फ्रस्टेसन हुन्थ्यो, व्यवसाय चलिरहेको थिएन, अप्स एण्ड डाउनहरू आएका थिए । तर सोचहरूलाई जम्मा गर्दाखेरि हौसला चैँ आउँथ्यो ।सुरुवाती अवस्थामा चुनौती लिँदै र पार गर्दै सबैको साथ सहयोगले यहाँ सम्म आइपुग्यौँ । ’

त्यस समयमा विभिन्न समस्याहरूका साथसाथै केही आशाका किरणहरू पनि देखिएको उनले बताइन् ।

बस्ताकोटी नेपालमा व्यवसाय गर्न पहिले त परिवारबाट चुनौती आउने बताउँछन् ।  उनले सबै युवापुस्तामा ‘केही गर्नुपर्छ, अगाडि बढ्नु पर्छ’ भन्ने सोच भएको तर कहाँबाट सुरु गर्ने भनेर सुरुवाती बिन्दु भेटाउन गाह्रो हुने बताए ।

उनले ‘जागिर त खायो, बरु विदेशै गइदिए हुने, आइफोन पठाइदिए हुने’ भन्ने पारिवारिक सोचसँग आफ्नो सोचले मेल नखाँदा विभिन्न समस्याहरूको सामना गर्नुपर्ने बताए । त्यस्तै व्यवसाय दर्ता गर्न जाँदा ढोग गर्नुपर्ने स्थिति रहेको दु:खेसो पोखे ।

उनले यस्ता विभिन्न चुनौतीहरूको सामना गर्दै शक्तिको रूपमा बदलेर मिराज भोकेस्नल स्कुलको स्थापना भएको बताए ।

भने ‘हामीले नेपाली समाजमा परिवर्तनको कल्पना गरेर बेकरी र बेकरी सिकाउनको लागि सहजीकरण गरिदिने बेकरी स्कुलको कन्सेप्ट लिएर आयौँ ।त्यसपछि चैँ हामीले एकातिर बेकरीको एकेडेमी अर्को तिर उत्पादन सुरु गर्‍यौँ । ’

आफ्नो भनाइलाई निरन्तरता दिँदै उनले भने ‘सँगसँगै सिटिभिटिको एप्लीकेशन पनि लियौँ र एकदमै उत्साहजनक तरिकाले वहाँहरूले पनि हामीलाई सहयोग गर्नुभयो ।’

उनले अहिले मिराज बेकरी र इन्स्टिच्युटलाई सबैको साथ र सहयोग भएको बताए ।

त्यस्तै श्रीमती दुलालले आफूलाई प्रोफेसनल लाइफको मात्र नभएर पर्सनल लाइफको पनि चुनौती भएको बताइन् ।

उनले आफ्नो कामको व्यस्तताको कारण ‘एउटा अभिभावक र आमाको जिम्मेवारी पुरा नगरेको हू कि’ भन्ने महसुस हुने बताइन् ।

अहिले उनले मिराज इन्स्टिच्युटमा विद्यार्थीहरूलाई केक सम्बन्धी तालिम दिने गरेकी छन् ।

मिराज इन्स्टिच्युटमा व्यावसायिक तरिकाले बेकरी सञ्चालन गर्नको लागि लेवल वान कोर्स रहेको छ । जुन ४ महिनाको तालिम हुने र उक्त तालिम लिँदै गर्दा सानोतिनो बेकरी खोल्न सकिने उपसंस्थापक बस्ताकोटीले जानकारी दिए ।

त्यसपछि बेकरीको डिप्लोमा पनि छ । उनले भने ‘यो १२ महिना हुन्छ, यसको अवधि । ६ महिना वहाँले यहाँ सिक्नु हुन्छ, ६ महिना चैँ स्टार होटलमा गएर काम गर्नुहुन्छ । त्यसपछि वहाँले आफ्नो प्रोफेसनल करिअर सुरु गर्नुहुन्छ ।’

उनले यसका साथै कफी मेकिङ्ग कोर्सहरू पनि रहेको बताए । उनका अनुसार कफी मेकिङ्ग कोर्स  दुई हप्ताको हुन्छ, साथसाथै साना केक बनाउने स्पेसल ट्रेनिङहरू रहेको उनले जानकारी दिए ।

‘बेलाबेलामा नेपाल र विदेशबाट विभिन्न एक्सपर्ट इन्स्ट्रक्टरहरू पनि ल्याएका हुन्छौँ । वहाँहरूले दिने सर्ट टर्म कोर्सहरू पनि हामीसँग छन् । साथसाथै व्यवसाय गर्न चाहनेहरूका लागि फ्री मै परामर्श सेवाहरू पनि दिन्छौँ ।’ उनले भने ।

उनले नेपाल सरकारका विभिन्न कार्यक्रमहरूमा पनि मिराज बेकरी आबद्ध रहेको जानकारी दिए । सङ्घीय र स्थानीय सरकारसँगको समन्वयमा र आफ्नै व्यक्तिगत तर्फबाट विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताए ।

स्थानीय बाली प्रवर्धन आयोजना
यस योजना अन्तर्गत ‘पहाडी जिल्लाहरूमा पाइने कोदोलाई कसरी महँगा होटलहरूमा सर्भ गर्न सक्छौँ’ भनेर विद्यार्थीहरूलाई सिकाउने उपसंस्थापक बस्ताकोटीले बताए ।

साथसाथै स्कुलका बालबालिकाहरूलाई कस्तो खाजा बनाउन सकिन्छ , हामीसँग उचित सदुपयोग नभएका हाम्रा रैथाने बालीहरूको प्रयोग गरेर फुड चेनमा कसरी महत्त्व बढाउन सकिन्छ भन्ने खालका छोटा कोर्सहरू डिजाइन गरिएको उनले जानकारी दिए ।

अबको योजना

उपसंस्थापक बस्ताकोटीले फुड प्रडक्सनको क्षेत्रमा केही वर्षमा नेतृत्व एजेन्सीको रूपमा काम गर्ने तयारी रहेको बताए । उनले बेकरीकै क्षेत्रमा पनि धेरै वस्तुहरू आयात गरेर चलाइ रहेका बताए । उनले अबको केही समयमा नेपालकै रैथाने बाली र प्रविधिलाई प्रयोग गरेर सकेसम्म निर्यातमुखी वातावरण बनाउने प्रयत्न गर्ने बताए ।

उनले भने ‘नेपाली उत्पादन, ब्रान्ड चैँ विदेशमा पनि देख्न पाइयोस् । त्यो चैँ हाम्रो फ्युचर प्लान हो ।’

उनले बेकरी व्यवसायबाट नेपालमा रोजगारीको वातावरण बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने बताए । नेपाललाई आयात भन्दा पनि निर्यातमा लानु पर्ने उनले बताए ।

भने ‘नेपालमा सकेसम्म दिगो तरिकाले उत्पादन गर्छौँ । स्थानीय उत्पादन र स्रोतसाधनलाई बढी प्राथमिकतामा दिन्छौँ ।’

बेकरी उत्पादनको लागी गार्डेन ! 

‘विद्यार्थीहरूलाई चित्र बनाएर, फोटोमा देखाउनु भन्दा प्रत्यक्ष रूपमा, कफी सिक्ने व्यक्तिले पाकेको रातो चेरी देख्न पायो भने त्यो सिकाइ दिगो र प्रभावकारी हुने भएकाले गार्डेन बनाएका छौँ ।’ उनले भने ।

उनले विद्यार्थीलाई गार्डेनको प्रयोग गरेर सिकाउने बताए ।

बेकरी उत्पादनमा प्रयोग हुने प्रविधि

उपसंस्थापक बस्ताकोटीले मिजार इन्स्टिच्युटमा बेकरी सम्बन्धि थुप्रै मेसिनहरू रहेको बताए । उनले मिठो चुस्ने, पिठो पेल्ने र विभिन्न देशबाट आएका ओभनहरू रहेको बताए ।

उनले बेकिङ रुमहरू र केक बनाउन स्पेसल कोठाहरू पनि रहेको बताए ।

बेकरी व्यवसाय गर्न चाहने युवाहरूलाई सुझाव

संस्थापक दुलाल र उपसंस्थापक बस्ताकोटीले एक अर्काको कुरालाई अन्धो रूपमा पत्याउनु भन्दा पनि एक अर्काको गल्तीलाई औँल्याउँदै अघि बढ्नु पर्ने बताए । उनीहरूले सिप र अनुभव बटुल्नकै लागि भएपनि एकपटक विदेश जानुपर्ने बताए ।

भने ‘घुम्न जानुस्, सिक्न जानुस् तर फर्केर चैँ नेपाल नै आउनुस् ।’

उनीहरूले बेकरीमै आफ्नो भविष्य खोज्ने युवाहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नै बेकरीको राम्रो स्कोप रहेको बताए । संस्थापक बस्ताकोटीले अरू सिपलाई एआई जस्ता प्रविधिहरूले विस्थापन गर्दै गएको तर यस क्षेत्रमा भने अलि समयसम्म यस्ता खाले विस्थापनको रिस्क नभएको बताए ।

सरकारसंग  गुनासो

‘पहिलो कुरा त बेकरी व्यवसायहरूको छाता सङ्गठन छैन नेपालमा । पाउरोटी व्यवसाय सङ्घ भएपनि सानो व्यवसायहरू त्यसमा हुनुहुन्न । बेकरीको व्यवसाय गर्ने कुनै पनि सङ्गठित संस्था नभएकोले समस्यालाई समाधान गर्ने कुनै पनि निकाय छैन ।’ उपसंस्थापक बस्ताकोटीले भने ।

उनले स्थानीय स्तरमा केही पहलहरू भने भइरहेको जानकारी दिए ।  स्थिर सरकार भएमा मात्र पनि व्यवसायहरूलाई सहज हुने उनले बताए ।

अन्त्यमा उनले सरकारलाई काम गर्ने वातावरण बनाइदिन अनुरोध गरे ।

(हाल मिराज बेकरीमा बेकरी र बरिस्ता ट्रेनिङ तालिम लिन चाहने विद्यार्थीहरूका लागि विशेष अफर रहेको छ ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *