वडाध्यक्ष मुकेशको हत्या आरोपमा एक महिनापछि दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेश यादवको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् । वडाध्यक्ष यादवको मृत्युमा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीकै औरही नगरपालिका-७ भोइल टिमकियाका संजीव झा र दिलिप मण्डललाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालतले चार दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । वडाध्यक्ष यादव भदौ ९ गते राति बर्दिबासमा साथीहरूसँग बसेका थिए । त्यहाँबाट घर आउन निस्किए पनि उनी अर्को दिन बिहान मृत भेटिएका थिए । उनी सवार मोटरसाइकल बाटोमा लडिरहेको अवस्थामा भेटिएको थियो भने उनको शव सडकको छेउमा भेटिएको थियो ।

वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु नभई कसैले हत्या गरी फालेको परिवारजनको दावी छ । उनी गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *