विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन : डाक्टर अधिकारी
काठमाडौँ । विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक नभएका कारण विपद्जन्य अवस्थामा सधैँ अन्तर निकाय समन्वयको अभाव देखिने गरेको छ ।
सरकारका योजनाहरू विज्ञानले प्रतिपादन गरेको तथ्यमा आधारित हुन नसक्दा विकासले विनाश निम्त्याइरहेका छन् । विश्वविद्यालय तहमा भएका अध्ययन प्रतिवेदन तथा सरोकारवाला सरकारी निकायका सुझावहरूलाई पनि समयमै सम्बोधन गर्न नसकेका कारण पनि विपद्जन्य घटनाबाट हुने जोखिम न्यूनीकरण गर्न नसकेको देखिन्छ । मुलुकले पछिल्ला दिनमा भोग्नुपरेको विपद्जन्य घटनाको हानी नोक्सानी अपूरणीय छ । सरकारका नीति नियम, ऐन र योजनाहरू विज्ञानमा आधारित तथ्यमा टेकेर तर्जुमा हुन नसकेका कारण पनि मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको हो । सबै प्रकारका विपद्हरू मानव नियन्त्रणमा नहुने भएपनि क्षति न्यूनीकरण गर्नसक्ने प्रशस्त सम्भावना हुँदाहुँदै अन्तर निकायबीचको समन्वय अभावका कारण ठूलो क्षति व्यहोर्नुपरेको यस क्षेत्रमा कार्यरत विज्ञको धारणा छ ।
सबै प्रकारका विपद् व्यवस्थापन प्रयोजनका लागि गठन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भुमिका प्रभाकारी बन्न नसकेको भन्दै आलोचना भइरहेका बेला विपद् विज्ञले पनि सरकारी निकायबीच समन्वय हुन नसकेको टिप्पणी गरेका हुन् ।
इन्जिनियरिङ अध्ययन संस्थान, विपद् अध्ययन केन्द्रको निर्देशक डाक्टर वसन्तराज अधिकारीले वैज्ञानिक आधार विनाका सरकारका नीति र अन्तर निकाय समन्वय अभावका कारण विपद्जन्य घटनाबाट ठूलो हानी नोक्सानी व्यहोर्नुपरेको बताए । उनले कुनैपनि प्राकृतिक प्रकोप अथवा विपद्लाई रोक्न नसकिने भएपनि प्रभावकारी पूर्वतयार र विपद प्रतिकार्यबाट हानी नोक्सानीलाई कमगर्न सकिने बताए । तर त्यसका लागि अन्तर सरकारी निकायबीच आवश्यक समन्वय हुनुपर्ने तर्क गरे ।
उनले भने ‘अन्तर निकायबीचको समन्वय भएन विपद व्यवस्थापनमा भनेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बन्यो । त्यसको काम नै विश्वविद्यालय, संघ,संस्थाहरु, नेपाल सरकारसँग भएका निकायहरूलाई समन्वय गरेर बृहत्तर विपद व्यवस्थापनको जोखिम न्यूनीकरण गर्ने हो अथवा विपद व्यवस्थापन गर्ने हो । तर एक अर्का निकायबीचको समन्वय नभएको देखिन्छ । हामीले साइन्स बेस डिसिजन मेकिङ प्रोसेस अथवा इभिडेन्स बेस डिसिजन मेकिङ प्रोसेस हुनुपर्छ भनिरहेका छौँ । तथ्यगत आधारमा नीति बन्नुपर्छ । विश्वविद्यालयतहमा भएका अध्ययनका तथ्यहरूलाई राज्यले नीति निर्माणको तहमा लागू गरेको देखिँदैन ।’
उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन बन्नु र छुट्टै निकाय गठन हुनु कोशेढुंगा साबित भएको उल्लेख गरे । त्यसैगरी विपद् व्यवस्थापनमा सुरक्षा, कामकारबाही, विश्वविद्यालय तहमा भएका अध्ययन तथा नेपाल सरकारका नीति, ऐन, कार्यक्रम, निर्देशिका, कार्यादेश, रणनीतिहरू लगायतले नेपाल दक्षिण एसियामा नै निकै राम्रो अवस्थामा रहेको भएपनि केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको समन्वय भने अझै अभाव रहेको टिप्पणी गरे ।
उनले भने ‘नेपालमा विपद् व्यवस्थापनमा हेर्ने हो भने पहिला भन्दा निकै नै राम्रोसँग अगाडि बढेको देखिन्छ । सन् २०१७ मा कानुन बनायौ । त्यो नेपालको विपद् व्यवस्थापनको एउटा कोशेढुंगा हो । विपद् व्यवस्थापनमा हाम्रो सुरक्षा, कामकारबाही, विश्वविद्यालय तहमा भएका अध्ययन तथा नेपाल सरकारका नीति, ऐन, कार्यक्रम, निर्देशिका, कार्यादेश, रणनीतिहरू हेर्दा हामी कानुनी हिसाबले दक्षिण एसियामा नै निकै राम्रो अवस्थामा छौँ । तर विपद् व्यवस्थापनमा केन्द्रीय सरकार र स्थानीय सरकारबीच राम्रो समन्वय हुन सकेको छैन ।’
उनले पछिल्ला दिनहरूमा सबै विपद्का घटनालाई जलवायुजन्य घटना भनेर हल्ला टिप्पणी हुने गरेको उल्लेख गर्दे पर्याप्त तथ्य बिना सबै कुराहरू जलवायु परिवर्तनका कारण भएका हुन भन्ने भाष्य निर्माण गर्नु सही नहुने तर्क गरे ।
उनले भने ‘सबै कुराहरू जलवायु परिवर्तनका कारण भएका हुन भन्ने भाष्य निर्माण गर्नु सही होइन । हाम्रो हिमालय पर्वतमा हुने सम्पूर्ण क्रियाकलापहरूलाई जलवायु परिवर्तन नै हो भनेर ठोकुवा गर्न वैज्ञानिक तथ्यहरूको आवश्यकता पर्दछ । अन्तर्राष्ट्रिय रुपमा यो जलवायु परिवर्तनको कारणले भएको हो भन्न तथ्यको विश्लेषण हुनुपर्छ । मेलम्चीको बाढीलाई हेर्ने हो भने जलवायु परिवर्तनका कारण भएको हुन सक्ला । तर जुन ठाउँबाट सेग्मेन्टहरु आयो, त्यहाँ कसरी आयो भन्ने कुरा अहिले पनि हामीले अनुमानको आधारमा भनिराखेका छौं । गोर्खाको वीरेन्द्र तालको सवाल पनि त्यस्तै छ । त्यो ताल फुटेको होइन । पानी मात्रै बाहिर आएको हो । माथिको हिमनदी फुटेर तालमा खस्यो । हेर्दाखेरि चाहिँ तापक्रम वृद्धिले गर्दा हिमनदी फुटेजस्तो देखिन्छ । तर त्यहाँ हाम्रो तापक्रम नाप्ने स्टेसन छैन । तर त्यो प्रक्रिया चाहिँ जलवायु परिवर्तनको कारण भएको भन्न सकिन्छ । थामेकै उदाहरण हेर्ने हो भने पनि त्यहाँ अरु त कुनैपनि कारण देखिएको छैन । हिमालमा हिउँ पग्लियो अनि तालमा पानी बढी भयो । सन् २०१५ को लामटाङ घटना बारे केही समय अघि एउटा अध्ययन प्रकाशित भएको छ । अध्ययनले २०७२ सालको भूकम्प अगाडि नै त्यहाँ तापक्रम बढेर एक प्रकारको परिवर्तन आएको थियो र भूकम्पले अझ बढी जोखिम ल्याइदियो भन्ने देखाउँछ । त्यसैले यस्ता घटना चाहिँ जलवायुजन्य प्रकोप नै हो भन्न सकिन्छ तर सबै कुराहरूलाई जलवायु परिवर्तनकै कारण भएको भन्न चाहिँ सकिँदैन ।’
उनले विपद् र प्रकोप तथा मानव सृजित विपद्बारे स्पष्ट हुनु जरुरी रहेको बताए ।