विपद् पीडितलाई सबै सांसदको १५ दिनको तलब दिने एमालेको निर्णय

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको उद्धार र राहत कार्यमा जुट्न पार्टीका नेता/कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।

मंगलवार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितहरूको पुनः स्थापना, राहतको व्यवस्था गर्न र समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एमाले सचेतक सुनिता बरालले एमालेका जनप्रतिनिधिहरुले पनि आवश्यक सहयोगमा लाग्न निर्देशन दिएको बताइन् ।

उनले आम नागरिकलाई साझा रुपमा संयुक्त आह्वान गरेर डटेर विपद् व्यवस्थापनमा जुट्न आग्रह गरेको बताइन् । सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको जानकारी दिइन् ।

उनले भनिन् ‘अहिले भइरहेको प्राकृतिक विपत्ति जुन बाढी पहिरोका कारणले भएको क्षति छ यसकै सन्दर्भसँग जोडिएका बसेका थियौँ । सँगै सम्माननीय प्रधानमन्त्रीज्यूको संयुक्त राष्ट्र सङ्घको भ्रमणका विषयमा पनि उहाँले जानकारी गराउनु भयो । भ्रमण जानुअघि सरकारले ल्याएको संकल्प कार्यक्रमहरू थिए, जुन साझा कार्यक्रमहरू त्यसमा पनि प्रतिबद्ध भएर अघि बढ्न भन्नुभएको छ । बाढी पीडितहरूको सन्दर्भमा पुनः स्थापना गर्ने, उहाँहरूलाई राहतको व्यवस्था गर्ने, समस्या परेका स्थानमा समाधान गर्न सरकारी तवरबाट पहल र प्रयत्न गरी हामी जनप्रतिनिधिले कहाँ र कसरी सहयोग गर्न सकिन्छ भन्नेकुरामा साझा रुपमा संयुक्त आह्वान गर्दै डटेर अघि बढ्ने । यसमा नेकपा एमाले र एमाले दलका तर्फबाट सरकारी, गैरसकारी संस्था, नागरिक समाजलाई पनि अनुरोध गर्ने र सरकारी संयन्त्रहरूको अधिकतम उपयोग गर्नका लागि जनप्रतिनिधिहरू सचेततापूर्वक लाग्नेकुराको निर्देशन दिनुभएको छ । नेकपा एमाले दलमा आबद्ध हुनुभएका सांसदहरूको आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्न निर्देशन गरेका छौँ ।’

सचेतक बरालले एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय बैठकले गरेको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *