मुलुकमा आइपरेको विपत्तिको मिलेर सामना गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गरेका छन् ।

मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताए ।

पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले सिङ्गो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताए । विपत्तिले कुनै राजनीतिक रङ्ग, कुनै पेसा, कुनै व्यवसाय केही छुटाएर मर्का पारेको नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नुपर्ने बताए ।

उनले भने ‘यो बेला भनेको जनताले भोगी रहेको पीडा जुन छ । त्यस पीडामा उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने हो । यतिबेला यस्ता कुराहरूमा हामी नेपालीहरू सम्पूर्ण एक हुनुपर्दछ । एक भएर यो साझा विपत्तिको सामना गर्नुपर्दछ । यस विपत्तिले कुनै राजनीतिक रङ्ग, कुनै पेसा, कुनै व्यवसाय केही छुट्टयाएर मर्का पारेको हुँदैन । सबैलाई यसले मर्का पारेको हुन्छ । यो साझा राष्ट्रिय पीडाको कुरा हो । त्यसकारण देशले ३ दिन शोक मनाउने, आधा झण्डा झुकाउने भन्ने निर्णय गरेको छ सरकारले । यतिबेला कमी कमजोरीहरू कहीँ छन् । त्यो देखाउन सकिन्छ । तर केही राम्रा कामहरु पनि भएका होलान् । सरकारले राम्रो काम पनि गरेको होला । सुरक्षाकर्मीहरूले पनि गरेका होलान् । ४ हजार भन्दा बढी मानिसलाई रेस्क्यु नगरेको भएत उनीहरु बाँच्न गाह्रो थियो नि त । चार हजार भन्दा बढी मानिसलाई त बचाइएको छ । चार हजार भन्दा बढिको उद्धार गरेर उहाँहरूको जीवन जोगाएको छ । यो कुराहरू पनि हामीले देख्नु पर्छ भन्ने लाग्छ मलाई । केही गर्दै नगरेको होइन । सक्दो गरेको छ । यसमा कहीँ कमीकमजोरी भएको पनि हुनसक्छ । ती आगामी दिनहरूमा गम्भीरताका साथ लिनुपर्दछ । र सच्याउनु पर्दछ त्यस्ता कुराहरू । कमीकमजोरीहरू हुन दिनु हुँदैन । सच्याउनु पर्छ । हामीसँग भएको, राज्यसँग भएको, समाजसँग भएको, यो खाली राज्यको मात्रै विषय पनि होइन । किन, राज्यको मात्रै विषय भए अहिले पुनर्निर्माणको लागि, रेस्क्यु अपरेसनका लागि अथवा अरु राहत, सहयोगका लागि विभिन्न संघ, संस्थाहरूले, व्यक्तिहरूले, व्यवसायीहरूले कोषमा सहयोग पुर्याउनु हुनुहुने थिएन । यो सरकारको मात्रै विषय पनि होइन । यो सिङ्गो समाजको विषय हो । सिङ्गो नेपाल यसबाट मर्माहत छ । अत्यन्त दुःखित छ । केही ठाउँमा ढिलो भएको पनि हुनसक्छ । तर जानीजानी ढिलो गर्ने, लापरबाही गर्ने कुरा त कसरी भयो होला र । ’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले केही ठाउँमा उद्धारको काम ढिलो भएको हुनसक्ने स्वीकार गर्दै अब तीव्रताका साथ अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *