ऊर्जामन्त्री खड्का र एशियाली विकास बैंकका उपमहानिर्देशकबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग एशियाली विकास बैंक दक्षिण एशियाली विभागका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भेटवार्ता गरेकी छन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भएको उक्त भेटमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गर्ने सहकार्यबारे छलफल भएको थियो ।

भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले आगामी दिनमा सरकारलाई एडिबीको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे ।

मन्त्री खड्काले एडिबीको लगानीमा निर्माण भएका आयोजनालाई यथाशीघ्र सम्पन्न गर्न सरकार लागिपरेको उल्लेख गर्दै निर्माणका क्रममा देखिएका चुनौतीलाई सरकारले चाँडो सम्बोधन गर्ने बताए । आयोजना निर्माणका क्रममा गर्नुपर्ने अन्तरमन्त्रालय समन्वय गर्नसमेत सरकारले ध्यान दिने उनले बताए ।

ऊर्जामन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर दरिलो सरकार गठन भएकाले ढुक्क भएर लगानी गर्न एडिबीलाई आग्रह गरे । उनले नेपाल मध्यम आय भएको देशमा रूपान्तरण हुने बाटोमा अगाडि बढेकाले एडिबीको साथ र सहयोग आवश्यक रहेको बताए ।

भेटमा उपमहानिर्देशक माल्भिसिनीले तनहुँ जलविद्युत् आयोजना र दूधकोसी जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नका लागि आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् । उनले नेपालमा विकास निर्माणको वातावरण सुनिश्चित गरे एशियाली विकास बैंकले धेरै क्षेत्रमा सहयोग गर्ने बताइन् ।

भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, नेपालका लागि एसियाली विकास बैंक ९एडिबी०का देशीय निर्देशक अर्नाउड काउकोइस लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *