शोकलाई शक्तिमा बदल्ने अठोटले फेरिएको गीताको जीवन

महोत्तरी । बर्दिवास–१ की एकल महिला भद्रकुमारी फुँयाल दृढ सङ्कल्प, कामको निरन्तरता र समर्पणले मान्छेलाई कसरी सफलतामा पुर्‍याउँँ भन्ने उदाहरण बनेकी छन् । यहाँ गीता नामले चिनिने भद्रकुमारीको मेहनत र लगनले उनको परिवारमा अभाव र गरिबी मात्रै हटेको छैन, परिवार पनि सुशिक्षित बनेको छ ।

एघार वर्षअघि पति खिन्तप्रसाद फुँयाल (मनोज) को आकस्मिक निधन हुँदा आफूले एक्लै उभिने र बाँच्ने सपना नै नदेखेको उनले स्मरण गरिन् । आफूमात्रै होइन तीन लालाबालाको दायित्व पनि एक्लैले सम्हाल्नुपर्ने भएपछि उनी निकै आत्तिएकी थिइन् ।

“न टेक्ने लौरो, न समाउने ठाउँ भनेजस्तै सहारा कोही थिएन”, उनले भनिन्,“खै, कुन प्रेरणाले पो उठ्ने जाँगर दियो ! मन समालेर आँखाका आँसु पुछेँ, जुरुक्क उठेँ, मनमा तैँले केही गर्नैपर्छ भन्ने सङ्कल्प पलायो ।”

श्रीमानको मृत्यु भएका बेला दुई छोरा र एक छोरीसहित तीन लालाबाला हुर्काउनुपर्छ भन्ने चेतले त्यसैवर्ष पूर्वपश्चिम राजमार्गको सडकपेटीमा थोरै पुँजीमा फलपूmल पसल सुरु गरेको गीताले सुनाइन् । त्यही पेसा पसल आफ्नो जिउने आधार बनेको उनको भनाइ छ ।

“विपत््का बेला गरेको अठोटले निरन्तर काममा जुट्न हौसला दियो । त्यसयता दैनिक गुजाराका लागि चिन्ता गर्नुपरेन । परोपकारी सामाजिक कार्यमा लाग्न, छोराछोरीको समुचित लालनपालन र शिक्षादीक्षाका लागि कसैका सामु हात फैलाउनु परेन । श्रीमान्को मृत्युसँगै ११ वर्षअघि सुरु गरेको फलपूmल पसलले सबै कुरा दियो”, गीताले भनिन् ।

शोकलाई शक्तिमा बदल्ने अठोट नलिए आफ्नो मात्रै होइन तीन सन्तानको भविष्य पनि अन्धकार हुने कुराले नै आफूलाई केही गर्ने जाँगर लागेको उनको कथन छ ।

“पति वियोगका प्रारम्भिक दिनका सङ्घर्ष कहालीलाग्दा थिए तर म हतासिएन, सम्भालिदै अघि बढेँ । आफ्नोभन्दा पनि सन्तानको मायाले धेरै कुरा गर्नु सिकाउँदो रहेछ । त्यही कारण सुरु गरेको कामबाट सन्तुष्ट छु, हाल अभाव भनेर खुट्याउने केही कुरा छैन । कुनैबेला दुई/चार रुपैयाँका लागि फैलाउनु परेको हातले अहिले विपद् र दुःखमा परेकालाई केही दिन पाएको छ”, विगत स्मरण गर्दै उनले भनिन् ।

आमा गीताले शोकमा गरेको सङ्कल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानाडा र अर्को अष्ट्रेलियामा उच्च शिक्षा लिदैछन् । छोरी काठमाडौँमा कम्प्युटर इञ्जिनियरिङ पढिरहेकी छन् ।

“सहज जीवनयापन, छोराछोरीको राम्रो शिक्षादीक्षाको प्रबन्ध गर्नुका साथै समस्यामा परेकालाई थोरै भए सरसापट दिन पाउनु नै एउटा एकल आमाका लागि सफलता कुरा नै हो । माग्नु सबैभन्दा निरीह कुरा रहेछ भन्ने आफ्नै भोगाइबाट बुझेकी छु, त्यसैले कोही सरसहयोगका लागि आइपुगे त्यसै फर्काउन मनले मान्दैन, केही न केही दिएर पठाउँ भन्ने लाग्छ”, उनले भनिन् ।

उनले अनाथ बालबालिका तथा सहयोगापेक्षी मानव व्यवस्थापनका लागि बर्दिवास–२ मा बन्न लागेको ‘हाम्रो मायाघर’ का लागि पाँच धुर जग्गा र रु ५१ हजार नगद सहयोग गरेकी छन् ।

“दिएको कुरा कसैले थाहा नपाउन् भन्छन्, मैले यति दिएँ भन्न होइन, सोचेजति सामाजिक काम अझै गर्न पाएकी छैन । पछिल्लो समय छोराछोरीको उच्च शिक्षामा लगानी गर्नुपर्दा हाल सामाजिक काममा सहयोग गर्न पाएकी छैन । अलि सहज भएमा आगामी दिनमा परोपकारका काम गर्ने निकै रहर छ”, फुँयालले आफ्नो योजना सुनाइन् ।

बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले सङ्घर्ष र सफलताकी उदाहरण बनेकी एकल महिला फुँयालबाट अन्य महिलाले पनि प्रेरणा लिनुपर्ने बताए । “दुःख त सबैलाई पर्छ नै तर त्यसको सामना कसरी गर्ने भन्ने कुरा हामी सबैले उहाँबाट सिक्नुपर्छ । शोकलाई शक्तिमा बल्न मेहनत गरेमा पक्कै पनि एकदिन सफलता प्राप्त हुन्छ, यसको उदाहरण पनि हो उहाँ”, खड्काले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *