माओवादी केन्द्रद्वारा स्वयंसेवक परिचालन अभियान शुभारम्भ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालैको विपत्तिमा परेका नागरिकको सहयोग, पुनःस्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान शुभारम्भ गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा एक कार्यक्रमका बीच अभियान शुभारम्भ गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन युद्धस्तरमा काम गर्न निर्देशन दिए ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका उहाँले सङ्कटका बेला पक्षविपक्ष नभनी पुनःस्थापनामा जुट्नुपर्ने बताए । “वि.सं. २०७२ को भूकम्पका बेला पनि मैले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको थिए । यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भने ।

त्यस अवसरमा बल्खुको जागरण टोलमा चार सय १७ घरका झण्डै चार हजारभन्दा बढी नागरिक प्रभावित भएको जानकारी दिइएको थियो ।अध्यक्ष दाहाल लगायत पार्टी नेताहरूले आजै भक्तपुरको हनुमन्तेखोला तथा आसपासका क्षेत्रमा भएको क्षतिको अवलोकन गरेका थिए ।

“हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसकारण सयौँ किसानले लगाएको करोडौँको तरकारीमा पनि क्षति पुगेको छ । अब यस विषयमा पनि सरकारले काम गर्नुपर्छ”, अवलोकनपछि उनले भने ।

अध्यक्ष दाहालसँगै माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, पम्फा भुसाल, नेताहरू हितमान शाक्य, दिलीप प्रजापतिलगायत पनि प्रभावित क्षेत्रको अवलोकनाका लागि पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *