विपद्जन्य घटना: मृत्युपछि लाख दिने की अगावै साथ ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले यही असोज ७ गते सोमबार असोज ८ गतेदेखि १२ गतेसम्म देशभर भारी वर्षा हुने भन्दै सचेतना अपनाउन आग्रह गरेको थियो ।

पूर्वानुमान महाशाखाले असोज ९ गते विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी समेत गरायो । महाशाखाले विशेष बुलेटिन जारी गर्दै प्रस्टसँग भनेको थियो,“असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ गते (आइतबार)सम्म देशभर भारी देखी धेरै भारी वर्षाको सम्भावना रहेको छ ।”

महाशाखाले बागमती,कोशी सहितका प्रदेशहरूमा अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको थियो । उपत्यकाका तीन वटै जिल्ला लगायतका ५३ जिल्लालाई रेड जोनमा समेत राखेको थियो ।

तर,पूर्व सूचना हुँदा समेत सरकारले प्रतिकार्यका लागि कुनै पनि तयारी नगरेपछि फलस्वरुप देशले ठूलो जनधनको क्षति व्यहोर्नु पर्‍यो ।

विपद्जन्य घटनाबाट २ सय २८ जनाको मृत्यु
निरन्तरको वर्षासँगै आएको बाढी पहिरो लगायत विपद्जन्य घटनाबाट हालसम्म २ सय २८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २५ जना बेपत्ता रहेका छन् भने १ सय ५८ जना घाइते भएका छन् । बाढी पहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । ती मध्ये पनि काठमाडौं,काभ्रे,ललितपुर,धादिङ,सिन्धुपाल्चोक,सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित छन् । काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा धेरै जनधनको क्षति हुन पुगेको छ । अहिले देश विपद्जन्य घटनाका कारण शोकमा डुबेको छ ।

बाढी पहिरोबाट १७ अर्ब बढीको क्षति
सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा क्षतिबारे जानकारी दिइएको हो । बाढी पहिरो र डुबानबाट खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड,सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षतिको प्रारम्भिक अनुमान गर्दा ऊर्जातर्फ ४ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको अनुमान सरकारले गरेको छ ।

विपद्जन्य घटनापछि जुरमुराए दलहरू
विपद्जन्य घटनापछि दलहरू जुरमुराएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकन गर्दै उनले विपद्को पूर्वानुमान हुँदा समेत सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भएको बताए ।

“मौसमविद्हरूले दुई तीन दिन भारी वर्षा हुँदैछ भनेर पूर्वानुमान गरिसकेका थिए । मैले पार्टी र विपक्षी दलका नेताको तर्फबाट तयारीका लागि सरकारलाई भनेपनि सरकारले कुनै तयारी गरेन,”उनले भने । सबै मिलेर युद्धस्तरमा काम थाल्नुपर्ने उनले बताए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि सरकारले विपद्जन्य घटनाका विषयमा कुनै तयारी नगरेका देश ठूलो विपत्तिमा गएको बताएको छ । साथै रास्वपाले सरकारको ध्यान बाढी पीडिततर्फ नभएर रास्वपातिर गएको समेत बताएको छ ।

पार्टी सभापति रवि लामिछानेले कांग्रेस एमालेको दुई तिहाइको सरकार जनताका लागि घातक भएको बताए । उनले भने, “सरकार जनताका लागि घातक भएको छ । सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न नसकेको र विपद्को समयमा गम्भीरता देखाउन नसक्दा नागरिकको ज्यान गएको भएपनि कोही सांसदहरू विरोधमा बोल्न सकेनन् ।”

सरकारले विपत्तिको समयमा गैरजिम्मेवारीपन देखाएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । विपद्जन्य घटनामा सरकारले तदारुकता नदेखाएको भन्दै सत्ता गठबन्धनमा रहेका दलहरूले समेत असन्तुष्टि जनाएका छन् । गत आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पनि सरकारले आवश्यक सतर्कता नअपनाएको भन्दै आलोचना भएको थियो ।

बाढी पीडितले गरेनन् सरकार भएको आभास
विपद्जन्य घटनाबाट ठूलो जनधनको क्षति भयो । बाढी पहिरो तथा डुबानका कारण नागरिकहरूको बिचल्ली नै भएको छ । भीषण बाढीबाट प्रभावित पीडितहरू यतिखेर जीवन गुजाराको पीडाले छटपटाइरहेका छन् । लाखौँको धनमाल बाढीले बगाएपछि अब कसरी जिउने भन्ने पीडामा उनीहरु छन् । आफूहरूको पीडामा सरकारले साथ नदिएपछि उनीहरुले आक्रोश पोखिरहेका छन् । सरकारले वास्ता नगरेपछि उनीहरुले सरकार भएको आभास नै गरेका छैनन् । सरकारले विपद्जन्य घटनामा सहयोग नगरेको पीडितहरूको गुनासो छ ।

मृतक तथा बेपत्ताका परिवारलाई २ लाख दिइने, शोकको घोषणा
विपद्जन्य घटनाको जानकारी सरकालाई नभएको होइन । तर,सरकारले गरेको लापरबाहीका कारण नागरिकले अकालमै मृत्युवरण गर्नुपर्‍यो । विपद्जन्य घटनापश्चात् सोमबार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले मृतकका परिवारलाई जनही दुई लाख दिने निर्णय गरेको छ ।

त्यस्तै १० दिनसम्म बेपत्ता रहेकाहरूको परिवारलाई समेत मृतकसरह नै मानेर दुई लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ । बैठकले बाढी पहिरोमा मृत्यु भएकाको सम्झनामा तीन दिन राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय पनि गरेको छ । उक्त अवधिमा सरकारी कार्यालय र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

सरकारले अहिलेको विपद्जन्य घटनाबाट पाठ सिकेर आगामी दिनमा पूर्वतयारी गर्न आवश्यक देखिन्छ । मृत्युभएपछि परिवारलाई राहत दिनुको साटो मृत्युबाट जोगाउनका लागि विपद्जन्य घटनाको प्रतिकार्यमा लाग्नको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *