इजरेलमा इरानी क्षेप्यास्त्र हमला, तेहरानले ‘ठूलो परिणाम भोग्नुपर्ने’ नेतन्याहूको चेतावनी

काठमाडौं । इरानले इजरेल तर्फ प्रहार गरेको झण्डै १८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरेली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिएको इजरेली सेनाले जनाएको छ । जेरुसेलमस्थित एकजना बीबीसी संवाददाताले केही सैन्य अखडामा प्रहार लागेको बताएका छन् । केही रेस्टुराँ र विद्यालयमा समेत क्षति पुगेको छ ।

अधीनस्थ वेस्ट ब्याङ्कको जेरिको क्षेत्रमा एकजना प्यालेस्टिनी पुरुष मारिएको इजरेल डिफेन्स फोर्सेस (आइडिएफ) का एकजना प्रवक्ताले जनाएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जाल एक्समा इरानले आफ्नो सैन्य कारबाही “पूरा गरेको” जनाएका छन्। तर इजरेलले जबाफी कारबाही गरेमा थप हमला गर्ने जनाएका छन् । इजरेलका अन्तर्राष्ट्रिय साझेदारहरूले उक्त देशका दशौँ लाख मानिसहरूलाई बमबाट सुरक्षित रहन बनाइएका आश्रयस्थलमा पुग्न बाध्य पार्ने गरी भएका प्रहारको निन्दा गरेका छन् ।

नेतन्याहूको चेतावनी
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले “ठूलो गल्ती गरेको” बताउँदै त्यसको मूल्य चुकाउनु पर्ने बताएका छन् । मन्त्रीपरिषद् बैठक सुरु भए लगत्तै बोल्ने क्रममा नेतन्याहूले इरानले इजरेल र उसका शत्रुविरुद्ध ‘जबाफ दिने दृढता’ आफ्नो देशको दृढतालाई नबुझेको बताए । ‘उनीहरूले बुझ्नेछन्,’ उनले भने । ‘हामीहरू हामीले बनाएका नियममा दृढ छौँ, जसले हामीलाई हमला गर्छ, हामी [उनीहरूलाई] हमला गर्छौँ ।’

व्यापक रूपमा इरानी क्षेप्यास्त्र हमला भएका केही घण्टामै इजरेली वायु सेनाले हिज्बुल्लाहलक्षीत निशानामा भन्दै लेबननको राजधानी बेइरुतमा थप प्रहार गरेको छ ।

तेहरान के भन्छ?
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मङ्गलवार राती गरिएका हमलालाई आफ्नो देशको ‘वैध अधिकार’ बताउँदै त्यो ‘इरान र यस क्षेत्रको शान्ति र सुरक्षा’को उद्देश्यसाथ गरिएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमलालाई ‘इरानी स्वार्थ र नागरिकको प्रतिरक्षा’का लागि इजरेललाई दिइएको एउटा ‘निर्णायक’ जबाफ बताएका छन् ।

नेतन्याहूललाई सम्बोधन गर्दै उनले “इरानसँग युद्ध उन्माद नभएको तर जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने” कुरा इजरेली प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए । उनले ती हमला इरानको क्षमताको केही ‘झलक’ मात्र रहेको भन्दै इरानसँग ‘द्वन्द्वमा संलग्न’ नहुन चेतावनी दिए ।

इरानले क्षेप्यास्त्रहरू प्रहार गरेपछि तेहरानका सडकमा खुसीयाली मनाइएको थियो। उक्त ठूलो भीडमा धेरै मानिसहरूले इरान र हिज्बुल्लाहका झण्डा र शुक्रवार इजरेली हवाई हमलामा मारिएका हिज्बुल्लाहका पूर्वनेता हसन नस्रल्लाहको तस्बिर बोकेका थिए । केहीले पटका पटकाएको समेत तस्बिरहरूमा देखिन्छ ।

ब्रिटिश राजदूतावासबाहिर उक्त भेला भएको थियो । गत एप्रिलमा समेत इरानले इजरेलमा हमला गर्दा सोही ठाउँमा प्रदर्शन भएका थिए ।

अन्तर्राष्ट्रिय प्रतिक्रिया
इरानी हमलापछि राष्ट्रपति जो बाइडनले इजरेलप्रति अमेरिकी साथ निरन्तर रहेको कुरा दोहोर्‍याएका छन् । उनले तेहरानको हमलालाई “पराजित र निष्प्रभावी” बताउँदै उक्त हमलालाई निष्फल तुल्याउन इजरेलसँग अमेरिकी सेनाले मिलेर काम गरेको बताएका छन् ।

ब्रिटिश प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको एक विज्ञप्तिमा सर किअर स्टार्मरले जर्मन चान्सलर ओलाफ सोल्जसँग कुरा गरेको र दुवैले इरानी हमलाको निन्दा गरेको जनाएका छन् । उक्त हमलाको निन्दा गर्नेमा फ्रान्स र जापान समेत रहे पनि उनीहरूले समेत सबै पक्षलाई अवस्था थप चर्काउने काम नगर्न भनेका छन् । संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घ ईयूले युद्धविरामको माग दोहोर्‍याएका छन्। राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक बुधवारका लागि बोलाइएको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *