विगतको तुलनामा व्यापारमा ७५ प्रतिशत कमी

व्यवसायी भन्छन्- दसैँ आयो, व्यापार छैन (भिडिओ)

काठमाडौं । उपत्यकाका मुख्य बजारमा दसैँको लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरूले गुनासो गरेका छन् । दसैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरूको भीड हुने भएपनि अहिले बजार सुनसान छ ।

विगतका वर्षहरूमा जस्तो यस वर्ष पनि आर्थिक मन्दीको कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरूले बताए । उनीहरुले दसैँ नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका छन् । दसैँ लागेसँगै बजारमा ग्राहकको भिडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरूको आशा निराशामा परिणत भएको छ ।

दसैँ लागेसँगै बजारमा ग्राहकहरू बढ्ने र व्यापारीहरूलाई केही राहत मिल्ने आशा भएपनि बाढी पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे । व्यापारीहरूले विगतका वर्षहरूमा सोही समयमा हुने शतप्रतिशत व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको उल्लेख गरे । बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरूको क्रय शक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरूको भनाई छ ।

उनीहरुले दसैँ लागेसँगै व्यापार बढ्ने केही आस भएपनि बाढी पहिरो जस्ता विपत्तिको कारण बजारमा ३० प्रतिशत भन्दा बढी व्यापार नहुने आँकलन रहेको बताए । सरकारको नीति, बैंकको ब्याज, घरभाडा वृद्धि तथा सरकारले लगाउने करमा वृद्धि भएकाले बजारमा सामानको मूल्य पनि विगतको तुलना वृद्धि भएको बताए । आर्थिक मन्दीले ग्राहकहरूको क्रयशक्तिमा कमी आएको अवस्थामा सामानको मूल्य वृद्धि हुँदा पनि सामान बेच्न व्यवसायीहरूलाई समस्या भएको हो ।

नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यस वर्षको दसैँ व्यवसायी र आम नागरिकको लागि दशाको रुपमा देखापरेको बताए । उनले अहिले मुलुक नै व्यापार व्यवसाय भन्दा पनि बाढी पहिरो र प्राकृतिक प्रकोपको चपेटामा परेकाले यस वर्षको दसैँमा रौनक नभएको बताए । विगतको तुलनामा ७५ प्रतिशत व्यापारमा कमी आएर २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी पहिरोको कारण शिथिल बनाएको उनको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *