वैकल्पिक ट्रयाक खोलेर मन्थली-काठमाडौं आवतजावत
मन्थली । मन्थलीबाट दोलखाको किर्नेटार-चरिकोट हुँदै काठमाडौंसम्मका लागि सडकमार्गको आवागमन बुधबार साँझबाट खुलेको छ ।
गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोसी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो ।
रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार-चरिकोट-मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौं आवतजावत गर्ने गरिन्छ । वर्षाका कारण सुनकोसीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोसीले कटान गरेपछि मन्थली-काठमाडौं आवागमन शनिबारदेखि अवरुद्ध थियो ।
काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान १२६ किमी पार गर्नुपर्थ्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली-काठमाडौंका लागि २०० किलोमिटर यात्रा गर्नुपर्छ ।