भौतिक मन्त्रालयले भन्यो– दशैँ अगाडी विपी राजमार्ग खुल्दैन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दशैँअघि नखुल्ने बताएको छ ।

बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध विपी राजमार्ग दशैँ अगाडी सञ्चालनमा नआउने जानकारी दिएका हुन् ।

उनले मन्त्रालयको टोलीले स्थलगत अवलोकन समेत गरेर आएको भन्दै दशैँ अगाडी विपी राजमार्ग खुल्ने सम्भावना नरहेको उल्लेख गरे ।

यद्यपी खुलाउने प्रयास भने जारी राखिने उनको भनाई छ । खुलेको अवस्थामा पनि फसेका यातायातका साधनको उद्धार मात्र गरिने र अन्य सवारी साधनलाई चलाउन सकिने गरी खुलाउन नसकिने उनले स्पष्ट पारे ।

असोज ११ र १२ गतेको भारी वर्षाका कारण देशभरमा ३४ वटा राजमार्गहरुका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएको जानकारी दिइइएको छ । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाइ २९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सुचारु गरिसकिएको सचिव शर्माले जानकारी दिए ।

हाल ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्ने प्रयास जारी राखिएको उनले बताए । हालसम्मको प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र साढे २ देखि ३ अर्ब लाग्ने देखिएको उनले जानकारी दिए ।

त्यस्तै क्षति भएका सम्पूर्ण संरचना स्थायी रुपमा पुनःस्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाई छ ।

सचिव शर्माले अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड ५ कि.मि., विपी राजमार्गको चौकीडाँडाँ–कालढुंगा खण्ड १८ कि.मि., मध्यपहाडी राजमार्गको दोलालघाट–राकथुम खण्ड ८० कि.मि., कान्ति राजपथ घपेली–बगुवा सडक खण्ड १३ कि.मी. र मेची राजमार्गको रमिते–फिदिम खण्ड ८ कि.मी. हालसम्म अवरुद्धको अवस्थामा रहेको जानकारी दिए ।

त्यसैगरी क्षति भएको पुलहरुमा अरनिको राजमार्गको लिपिङ, अरनिको राजमार्गको लार्चा बेलिब्रिज, विपी राजमार्गको सुनकोशी, खैरेनीटार, विपी राजमार्गको सुनकोशी, खुर्कोट, बिपी राजमार्गको सुनकोशी फोक्सिङटार, मेची राजमार्गको हँवा खोला पुल, कान्ति लोकपथको वागमती पुल, माईपोखरी–सन्दकपुर ईलामको रातेखोला पुल र कान्ति राजपथको वागमती पुल रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *