फिल्म समीक्षा

बेहुली फ्रम मेघौली : उमेर पुगेर विवाह नभएकी युवतीको कथा

काठमाडौँ । ‘बेहुली फ्रम मेघौली’ विवाह गर्ने उमेर पुगेका युवतीहरूले आफूसँग रिलेट गर्ने चलचित्र हो । जुनकुरा चलचित्रको टिजर र ट्रेलर हेरेर सजिलै अनुमान लगाउन सकिन्छ । वास्तवमा आफूसँगै विद्यालयमा पढेका साथीहरू विवाह गरेर आमा बनिसक्दा पनि आफ्नो एउटा ब्याइफ्रेन्ड नहुँदाको अवस्थामा म यस चलचित्रसँग आफूलाई रिलेट गर्न चाहन्थे ।

‘सानो हुँदा आमाबुबाले लव गर्नू हुँदैन है छोरी’ भनेर मलाई सम्झाउनु हुन्थ्यो । म पनि आमा बुबाको कुरा मानेर ज्ञानी भई बसे । कक्षाकोठामा कोही केटाले जिस्क्याउँदा उनीहरूसँग झगडा गर्न जान्थे । कुट्न जान्थे । घरमा गएर आमाबुबालाई कुरा लगाउँथे म । साथीहरूलाई पनि ब्याइफ्रेन्ड नबनाउन सल्लाह दिन्थे ।

प्राय केटाहरूसँग जिस्कने, मस्किने र छिल्लिने साथीहरूबाट म टाढा नै बस्दथे । मलाई कोही केटा मन पर्याे भने त्यो मेरो नैतिकताको विरुद्ध हुने गर्दथ्यो । त्यसैले मैले त्यस्तो पाप गर्ने आट कहिल्यै गरिन ।

अहिले मेरा धेरैजसो साथीहरूले विवाह भइसकेको छ । उनीहरूका सानासाना लालाबाला पनि छन् । हाम्रा समाजमा उमेर पुगेर विवाह नभएका महिलाहरूलाई बाच्न त्यत्ति सजिलो छैन । भविष्यमा आफूमाथि आइपर्ने यस्तै डरका कारण मैले चलचित्र ‘बेहुली फ्रम मेघौली’ चलचित्रका पात्र ‘मिना’ सँग आफूलाई खुबै रिलेट गर्न सके ।

उमेरमै छोरीको विवाह हुनुपर्छ भन्ने मान्यताकालाई चलचित्र ‘बेहुली फ्रम मेघौली’ मा देख्न सकिन्छ । चितवनको मेघौली भन्ने ठाउँका बेहुलीहरूको यस्तै पिडालाई चलचित्रमा देखाइएको छ ।

चलचित्रमा मिना न्यौपाने (स्वस्तिमा खड्का), नीरज (निश्चल बस्नेत), सिद्धार्थ कोइराला र गजेन्द्र (आमिर गौतम) नामक मुख्य पात्रहरू रहेका छन् । जुन पात्रहरूको उपस्थिति बिना चलचित्र अघि बढ्दै सक्दैन । जसले चलचित्रको मर्म र मनोरञ्जनलाई दर्शक सामू पस्कने महत्त्वपूर्ण काम गरेका छन् ।

चलचित्रको एक दृश्यमा मेघौलीको सडक छेउमा एउटा स्ट्यान राखिएको देख्न सकिन्छ, जसमा रातो रंगले ३० अंक कोरिएको छ । जसको अर्थ हो, ३० वर्ष भित्र छोरीको विवाह गरिसक्नुपर्छ । नत्र विवाहका लागि वर पाउन गाह्रो पर्छ । त्यसैले २९ वर्षकी मिनालाई यस वर्ष भित्र जसरी पनि विवाह गर्नुपर्ने छ ।

उनका बुबा आमा भने यसबारे ढुक्क छन् । किनकि मिना ७ वर्षदेखि नीरजसँग प्रेम सम्बन्धमा रहेको कुरा उनीहरूलाई थाहा छ । त्यसैले उनीहरूले मिनालाई विवाह गर्न कुनै दबाब दिएका छैनन् ।

तर अस्ट्रेलियाबाट विवाहका लागि दुई हप्तामा फर्कने भनिएको नीरज केहिदिनमै फर्कन्छन् । उनी विदेश जाँदा मिनाको बुबासँग लिएको ऋण पनि फिर्ता गरिदिन्छन् । उनले मिनासँग पनि विवाह गर्न नसक्ने बताउँछ । उनी अर्कै केटीसँग विवाह गरेर अस्ट्रेलिया जाने सोचमा छन् ।

७ वर्षदेखि नीरजसँग विवाह गर्ने सपना बुनेकी मिना प्रेमीको कुराले टुट्न पुगेकी छन् । उनी आफ्नो प्रेमलाई फर्काउने अनेक कोसिस गर्छिन् तर उनको परिवार भने जसरी नि छोरीको विवाह अन्त भने पनि गर्ने धुनमा छन् । यसैबीच ठोक्किन आइपुग्छन्, सिद्धार्थ र गजेन्द्र ।

सिद्धार्थ एक इन्जिनियर हुन् । उनी लोकसेवाको परीक्षा दिने तयारीमा छन् । उनले होटल पनि खोलेका छन् । मिना स्कुटरबाट लडेर चोट लाग्दा उनैले अस्पताल पुर्‍याएका हुन्छन् । मिनाका बुबाआमाले सिद्धार्थसँग नै मिनाको विवाह गरिदिने जमर्को चलचित्रमा देख्न सकिन्छ ।

त्यसैगरि बुबाको राजनीतिक परिवेश भएका गजेन्द्र भरखेरै सुधारकेन्द्रबाट निस्केका छन् । उनी पनि मिनासँग लगन गाँठो कस्न तयार भएका छन् । यस बाहेक पनि मिनाका बुबाले ‘बिहे भयो डटकम’ मा मिनाका लागि बेहुला खोज्न जान्छन् ।

यसरी उमेर पुगेकी आफ्ना छोरीका लागि बेहुला खोज्न गरेको बुबाआमाको संघर्ष र प्रेमबाट धोका पाएपछि अर्कैसँग विवाह गर्न घर परिवारले दिएका दबाब अनि समयमै विवाह हुननसक्दा समाजको टोकाइ सहनु परेको एउटी छोरीको मानसिकलाई चलचित्रमा देख्न सकिन्छ ।

त्यसोभए मिनाको विवाह हुन्छ कि हुँदैन, भयो भने को सँग, के उनी आफ्नो प्रेमलाई फर्काउन सफल हुन्छिन्, यी नै सेरोफेरोमा स्वस्तिमा खड्का, निश्चल बस्नेतको मुख्य भूमिका रहेको ‘बेहुली फ्रम मेघौली’को कथा घुमेको छ ।

चलचित्रले आफूलाई माया र सम्मान गर्ने व्यक्तिसँग मात्र विवाह गर्न भनेको छ । नत्र बिचैमा त्यस्ता सम्बन्धहरू टुट्न सक्छन्, छुट्नसक्छन् भन्दै त्यस्ता महिलाहरूले समाज र परिवारबाट कति सम्म तिरस्कार सहनु पर्छ भन्नेकुरा देखाएको छ । साथै छोरीको विवाह गर्ने उमेर छोरीले नै तय गर्नुपर्ने आवाजलाई उठाउँदै चलचित्रले छोरीहरूलाई कुनै प्रेमि नीरजको भर नपर्न भन्दै आत्मनिर्भर बन्ने सन्देश दिएको छ ।

चलचित्रका घटनाक्रमहरूले पुरै समय दर्शकलाई बाँधेर राखेको छ । जुन पछिल्ला नेपाली चलचित्रमा कमै छन् । यस चलचित्रमा सुरुदेखि अन्त्यसम्मै हास्यरसको प्रयोग भएका छन् । जसकारण दर्शकलाई मनोरञ्जनको कुनै कमी हुन दिँदैन । चलचित्रको स्क्रीन प्ले पनि सामान्य छ । यद्यपि उत्कृष्ट स्क्रीनप्ले ले यस चलचित्रलाई अझै राम्रो बनाउन सकिन्थ्यो भन्ने लाग्छ ।

यसबाहेक चलचित्रको पटकथा, अभिनय र मेकअप र सेटअप पनि राम्रै देखिन्छ । तर निश्चल बस्नेतको लुक र अभिनयमा भने कुनै काम गरिएको देखिँदैन । उनी अस्ट्रेलियाबाट आएजस्तो कतैबाट पनि लाग्दैन । उनको भूमिका र भूमिका अनुसारको पहिरन फिल्ममा छैन । यस विषयमा भने निर्देशकले ध्यान दिनुपर्ने देखिन्छ ।

समग्रमा भन्नुपर्दा चलचित्र राम्रो बनेको छ । दर्शकहरूले मूल्य तिरे अनुसारको प्रतिफल पाएको महसुस गर्छन् । चलचित्र घटस्थापनाको दिनदेखि देशभरका सिनेमा हलमा रिलिज भइसकेको छ ।

यस चलचित्रलाई साजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन् भने स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेका हुन् । चलचित्रमा स्वस्तिमा र निश्चलसहित वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, रक्षा थापा, लोकेन्द्र लेखक, सिरु विष्ट, आमिर गौतम लगायत कलाकारहरूको अभिनय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *