लिङ्देनलाई पाठकको खुलापत्र- धवल शम्सेरलाई हटाएर कुन तारा झर्न खोज्नु भएको हो ?

तपाईँले गर्नुभएको मानवीय संवेदनामाथिको खेलबाडविरुद्ध एक्लै भएपनि उभिने छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य जनक राज पाठकले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाउँदै खुला पत्र लेखेका छन् । पाठकले अध्यक्ष लिङ्देनले महामन्त्री धवल शमशेर राणालाई संगठन विभागको प्रमुख पदबाट हटाएकोमा कडा प्रतिक्रिया व्यक्त गरेका छन् ।

पत्रमा पाठकले महामन्त्री राणाको योगदान र नेतृत्वलाई सम्मान नगरी, क्यान्सरको उपचारको लागि भारतमा रहेका बेला उनलाई पदमुक्त गरिएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । पाठकले भनेका छन्, “तपाईंले यति वेला उनलाई मानविय संवेदना नै विर्सेर संगठन विभागबाट हटाउनु भएको विज्ञप्ति पढ्दा दुःख लाग्यो । के बितेको थियो यति वेला उनलाई हटाउनु पर्ने ?”

उनले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वका लागि बहस चलाउन र पार्टीलाई नयाँ उचाइमा पुर्याउन धवल शमशेरको महत्त्वपूर्ण भूमिका रहेको पनि उल्लेख गरेका छन् । पाठकले यो निर्णयको आलोचना गर्दै भने, “तपाईंले मानविय संवेदनामाथि खेलवाड गर्नु भो, त्यसमा मेरो समर्थन छैन। म तपाईंको यो निर्णयको बिरुद्धमा एक्लै भए पनि उभिनेछु ।”

पाठकले पार्टी नेतृत्वसँग सहकार्य गर्न धेरै प्रयास गरे पनि सफल हुन नसकेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनको निर्णयले पार्टीभित्र अन्योलता र असन्तुष्टि फैलाएको बताएका छन् । उनका अनुसार धवल शमशेर राणा उपचारको सिलसिलामा भए पनि पार्टीप्रति चिन्तित छन् र हरेक दिन पार्टीलाई सशक्त बनाउने निर्देश दिइरहेका छन् ।

पाठकले पत्रको अन्त्यमा अध्यक्ष लिङ्देनको निर्णयले स्वयम उनलाई नै कठिनाइमा पार्ने चेतावनी दिएका छन् । उनका अनुसार धवल शमशेरको चिन्ता र योगदानलाई बेवास्ता गरिएको यो निर्णयको परिणाम समयले देखाउनेछ । राप्रपाभित्र अहिले देखिएको यो विवादले पार्टीको आन्तरिक एकता र नेतृत्वको क्षमतामाथि प्रश्नचिह्न खडा गरेको छ ।

  • यस्तो छ खुलापत्र 

राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङदेन ज्यू लाई खुला पत्र …..
अध्यक्षज्यू जसले तपाईंलाई अध्यक्ष बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्यो, जसले पार्टीमा नयाँ तथा युवा पुस्ताको नेतृत्वको बहस चलायो त्यो व्यक्ति धवलशमशेर राणा यतिबेला क्यान्सर जस्तो प्राणघातको रोगको कारण उपचारको सिलसिलामा भारतमा छन् । तपाईंले यतिबेला उनलाई मानवीय संवेदना नै बिर्सिएर संगठन बिभागबाट हटाउनु भएको विज्ञप्ति पढ्दा दुःख लाग्यो ।

के बितेको थियो यतिवेला उनलाई हटाउनु पर्ने,कम्तिमा उनी उपचारबाट फर्किएपछि बैठकमार्फत नै हटाएको भए राम्रो हुन्थ्यो नि । यतिबेला उनलाई हटाएर उपलब्धि के ? कुन तारा झार्न खोज्नु भएको तपाईंले ? कति उपलब्धि अब हुन्छ त्यो पनि हेर्नु छ। तपाईंले जसरी मानवीय संवेदनामाथि खेलवाड गर्नु भो त्यसमा मेरो समर्थन छैन । म तपाईंको यो निर्णयको बिरुद्धमा एक्लै भएपनि उभिने छु ।

धेरै प्रयास गरियो तपाईंसँग सहकार्य गर्न तर सफल भइएन । एउटा निर्वाचित महामन्त्रीले पाएको विभागमा यसरी तपाईंले खेलवाड नगरेको भए राम्रो हुनेथियो । तपाईंको निर्णयले स्वयम् तपाईंलाई ऐठन हुनेछ। माननीय अध्यक्षज्यू तपाईंको यो निर्णयमा सहमत हुन सकिएन मात्र हैन बिरोध गर्न पर्न अवस्थामा पुगियो । महामन्त्री धवलशमशेर राणा उपचारको सिलसिलामा पनि तपाईं र पार्टी प्रति चिन्तित हुनुहुन्छ । हरदिन हामीलाई पार्टीलाई अन्दोलित गराउन र अध्यक्षलाई सहयोग गर्न निर्देशन दिइरहनु भएको छ । उहाँको चिन्तामाथि जसरी खेलवाड गर्नुभयो त्यसको हिसाब तपाईंसँग् समयले लिनेछ । म तपाईंको उन्नति र प्रगतिको कामना गर्दछु अध्यक्षज्यू !

जय राष्ट्रवाद
जनक राज पाठक
महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *