काठमाडौंबाट हेटौंडा जाने राजमार्गको अवस्था र विकल्प

काठमाडौं । काठमाडौंबाट पूर्वी नेपाल जान चाहने यात्रुहरूको लागि बीपी राजमार्ग एक भरपर्दो मार्ग थियो, तर हालैको वर्षाले निम्त्याएको बाढी-पहिरोका कारण यो मार्ग अवरुद्ध भएको छ । यसले गर्दा यात्रुहरूले नयाँ वैकल्पिक मार्ग खोज्नु पर्ने स्थिति आएको छ ।

अहिले काठमाडौं-हेटौंडा जाने विभिन्न सडकहरू पनि प्राकृतिक प्रकोपका कारण अवरुद्ध भइरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाअनुसार बाढीपहिरोले देशभर ३४ वटा राजमार्गका ८ सय ५ स्थानमा अवरोध भएकोमा ७ सय ७४ स्थानको पहिरो हटाई राजमार्ग सुचारु गरिएको ।

अझै पनि ५ प्रमुख राजमार्गका ३१ स्थानमा पहिरोको अवरोध कायमै रहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए । यसमा सबैभन्दा बढी अवरुद्ध भएको मार्ग मध्यपहाडी राजमार्ग हो, त्यसपछि बीपी राजमार्ग दोस्रो स्थानमा अवरोध भोगिरहेको छ । कान्ति राजपथ, जुन काठमाडौं-हेटौंडा जाने छोटो मार्ग हो, तर यो पनि अवरुद्ध भएसँगै यात्रुले वैकल्पिक मार्ग खोज्नु परेको छ ।

राजमार्गहरूमा अवरोध
हाल ट्राफिक प्रहरीका अनुसार काठमाडौं-हेटौंडा रुटका तीन मुख्य राजमार्ग अवरुद्ध छन् । बीपी राजमार्गमा विभिन्न स्थानमा पहिरो खसेको छ भने फर्पिङ र कान्ति लोकपथ पनि अवरुद्ध अवस्थामा छन् । यसले गर्दा यात्रुले अन्य मार्गहरू प्रयोग गर्न थालेका छन्, जसले गर्दा वैकल्पिक सडकहरूमा यातायातको चाप अत्यधिक बढेको छ । अवरोधहरूलाई हटाउन प्रयास भइरहेको भए पनि तत्काल पूर्ण रूपमा खुला हुने सम्भावना कम देखिन्छ ।

बल्खु-दक्षिणकाली-सिस्नेरी-कुलेखानी-भिमफेदी मार्गमा पनि पहिरो खसेको कारण आवागमन ठप्प छ । चन्द्रागिरी-मार्खु-कुलेखानी-भिमफेदी मार्ग समेत अवरुद्ध रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । यी मार्गहरूको पुनःसञ्चालनको प्रयास भइरहेको भए पनि तत्काल समाधान नआउने देखिन्छ ।

यी हुन् वैकल्पिक मार्गहरू
हाल यात्रुले काठमाडौंबाट हेटौंडा पुग्नका लागि चन्द्रागिरी-चित्लाङ-पालुङ-भैंसे मार्ग प्रयोग गर्न सकिन्छ । यस मार्गले पहिरोको प्रभाव नभएकोले यात्रुको लागि सुरक्षित विकल्प भएको छ । त्रिभुवन राजपथ अर्को विकल्पका रूपमा खुला छ, जसले थानकोट-चन्द्रागिरी-चित्लाङ-पालुङ-सिमभञ्ज्याङ-भैंसे हुँदै हेटौंडा पुर्‍याउँछ । यो मार्ग काठमाडौं-नारायणगढ-हेटौंडा भन्दा लामो भए पनि सुरक्षित यात्रा गर्न सकिन्छ ।

यस्तै ठूला रात्रीकालीन बसहरू पनि काठमाडौं-नारायणगढ-हेटौंडा रुटमा सञ्चालनमा छन् । यो मार्गमा केही लामो दूरी भए पनि यात्रुहरूको लागि वैकल्पिक मार्ग भएकोले यात्रुहरूले यसलाई बढी प्राथमिकता दिइरहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कान्तिलोकपथको घपेली-बगुवा खण्डमा १३ किलोमिटर सडकमा ठूलो क्षति पुगेको छ । बागमती पुलमा पनि क्षति पुगेकोले यस मार्गको मर्मत तथा पुनःसञ्चालनमा केही समय लाग्ने बताइएको छ । यद्यपि मन्त्रालयले बागमती पुलको एप्रोच छिटो निर्माण गरी सवारी साधन सुचारु गर्ने लक्ष्य राखेको छ ।

हेटौंडाबाट पूर्व यात्रा गर्न सकिने मार्गहरू
हेटौंडाबाट पूर्वी नेपाल जानका लागि यात्रुले दुई प्रमुख राजमार्गहरूको प्रयोग गर्न सकिन्छ । ती हुन् मदन भण्डारी राजमार्ग (हेटौंडा-सिन्धुली-चतरा-धरान) र पूर्व पश्चिम राजमार्ग । यी दुवै राजमार्गहरू हाल सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । यसले यात्रुहरूलाई पूर्व यात्रा गर्न सहज बनाएको छ ।

काठमाडौं-हेटौंडा मार्गमा पहिरो र बाढीको असरले धेरै कठिनाइ उत्पन्न गरेको छ तर, विकल्पमार्फत यात्रा गर्न सकिने मार्गहरू खुलेकोले यात्रुले केही सहजता पाएका छन् । त्रिभुवन लोकपथ, चन्द्रागिरी-चित्लाङ मार्गहरू हालका लागि प्रमुख विकल्प बनेका छन् । कान्ति लोकपथ र अन्य छोटो मार्गहरू मर्मतपछि पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *