नेपालले भारत र चीनसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालले भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन् ।

उनले मुलुकको आर्थिक समृद्धिको कार्यभारलाई पूरा गर्न पनि सरकारले भारत र चीन दुवै मुलुकसँगको सम्बन्धलाई समानतामा आधारित भएर प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल–भेनेजुयलामैत्री संघ घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालले जहिले पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर अन्य देशसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने पनि स्पष्ट पारे । उनले विश्व राजनीतिक एसिया केन्द्रित भइरहेकाले नेपालले पनि भूराजनीतिक संवेदनशीलतालाई बुझेर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने बताए । देशको राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने र सबैसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने नीतिलाई नेपालले अघि बढाउनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

उनले भने ‘ हामी भारत र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छौँ । र, उनीहरूसँग मैत्रीपूर्ण, समानतामा आधारित मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौं । कुनै एउटासँग घनिष्ठ सम्बन्ध, अर्कोसँग अलि दूरीको सम्बन्ध हामी त्यसको पक्षमा छैनौँ । मुख्यतः हामी भारत र चीन दुवैसँग मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाउन चाहन्छौं ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले स्वतन्त्र परराष्ट्र नीति नेपालले अवलम्बन गर्दै आएको र त्यसमा कति पनि विचलित हुन नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *