तनहुँको सुक्खा बारीमा ३ हजार मेट्रिकटन मास उत्पादन

काठमाडौँ । तनहुँ झण्डै तीन हजार मेट्रिकटन मास उत्पादन हुने गरेको छ । धान खेती नहुने, पानी नलाग्ने र सुक्खा बारीमा मासको व्यावसायिक रुपमा खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

मास खेती गर्न सजिलो, धेरै परिश्रम गर्नु नपर्ने र थोरै लगानीमा राम्रो मूल्य पाइने भएपछि मास खेतीतर्फ किसानको सङ्ख्या बढ्दै गएको कार्यालयका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए ।

यहाँ उत्पादित मास जिल्लाभित्रै खपत भई बाँकी पोखरा, नारायणगढ, काठमाडौँलगायतका सहरमा निर्यात हुने गरेको छ’, उनले भने ‘मास उत्पादक किसानले गतवर्ष प्रति पाथी रु आठ सयमा बिक्री वितरण हुने गरेको छ ।’

जिल्लामा तीन हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा मास खेती हुँदै आएको छ । गतवर्ष दुई हजार नौ सय साठी मेट्रिकटन मास उत्पादन हुने गरेको प्रमुख वरिष्ठ कृषि विकास अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

यसवर्ष वर्षालगायतका मौसम राम्रो रहेकाले मास उत्पादनमा वृद्धि हुने विश्वास लिइएको उनले बताए । जिल्लाका ऋषिङ, घिरिङ, शुक्लागण्डकी, म्याग्दे, बन्दीपुर, व्यास, भानु आँबुखैरेनी, देवघाट लगायतका पालिका मास खेतीका लागि पकेट क्षेत्रका रुपमा लिइने गरिएको छ ।

त्यसैगरी कार्यालयले रैथाने बाली संरक्षणअन्तर्गत कोदो बाली उत्पादनका लागि प्रोत्साहन कार्यक्रम ल्याएको छ । रैथाने बाली उत्पादनमा ५० प्रतिशत अनुदानमा बीउ र कोदो चुट्ने थेसर मेसिन दिने गरिएको छ । जिल्लामा छ हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ ।

कार्यालयका अनुसार गतवर्ष मात्रै सात हजार मेट्रिकटन उत्पादन भएको थियो । पछिल्लो समय कोदोको माग बढ्दै जान थालेपछि कोदो खेतीतर्फ किसानको आकर्षण पनि बढेको कार्यालय प्रमुख लामिछानेले बताए । कोदोमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *