अनशनरत सिलवालसंग पाँच बुँदे सहमति,हवाई एम्बुलेन्सको माग सम्बोधन गरिने

काठमाडौं । विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौँको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले शनिवारदेखि अनशन तोडेका छन् ।

गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच आज पाँचबुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् । गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृहमन्त्री रमेश लेखकले उनलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।

समारोहमा गृहमन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताउँदै सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए । सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गरेको भन्दै मन्त्री लेखकले प्रशंसा गरे ।

उनले भने,“आमाहरू, तिनका सन्तानहरूको जीवन जोगाउनका लागि जुन तपस्या गर्नुभयो र हामीलाई झक्झक्याउनुभयो र हाम्रो ध्यान गम्भीरतापूर्वक आकर्षण गराउनुभएको छ, तपाईंलाई धन्यवाद छ ।”

गृहमन्त्री लेखकले अहिले सरकारले दिइरहेको सेवाले सबै ठाउँलाई समेट्न नसकिएको अवस्थामा त्यस्तो हुनुहुँदैन र सबै पीडामा रहेकाहरूको उद्धार गर्नुपर्छ भनेर उनले राखेका माग जायज भएको पनि बताए ।

हवाई उद्धारसँग सम्बन्धित कार्यविधिलाई संशोधन गरेर सिलवालले उठाएको कुरालाई समावेश गरी अघि बढ्ने पनि उनले प्रतिबद्धता जनाए । उनले तोकतान्त्रिक ढङ्गले गरिएको दीपक सिलवालको दबाब शान्तिवादी अभ्यास भएको प्रतिक्रिया दिए ।

उक्त कार्यक्रममा गृह मन्त्रालयका सूचना अधिकारी तामाङले यसअघिको हवाई उद्धारको समीक्षा गर्दै आपतकालिन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक स्रोत, साधन तथा प्रतिबद्ध संयन्त्रको व्यवस्थान गरी थप प्रभावकारी बनाउने लगायत पाँचबुँदे सहमति भएको जानकारी दिए ।

हिजोको छलफलबाट सहमति गरी आज औपचारिक रुपमा हस्ताक्षर भएको जानकारी गराउँदै उनले सहमतिसँगै आजैका मितिबाट सिलवालको अनशन पनि अन्त्य भएको जानकारी दिए ।

कार्यक्रममा एक महिना अनशन बसेका सिलवालले आफ्नो माग हवाई एम्बुलेन्स नै रहेको जानकारी दिँदै अहिलेको हवाई उद्धार प्रभावकारी नभएकोतर्फ गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए । उनले सके हरेक प्रदेशमा एक/एक वटा नसके कम्तीमा पनि चार ठाउँमा हवाई एम्बुलेन्स राख्न जरुरी रहेको औँल्याए ।

उनलाई सहयोग गर्दै आएका पूर्वप्रदेश सांसद नरोत्तम वैद्यले तत्काल कार्यविधि संशोधन गरेर हवाई उद्धार प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले यो सहमति कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *