एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण (तस्बिरहरू)
काठमाडौँ । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।
एनसेल फाउन्डेसनले असोज २१ (सोमबार) गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँच वटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३) का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।
‘संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौं,’ एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडिहरुलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो । यसका लागि एनसेलप्रति हामी आभारी छौं । अब हामीले पुर्नःस्थापनामा काम गर्नुपर्ने छ । ’
राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुडाहरु, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरू रहेका छन्, जसले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीले विश्वास लिइएको छ । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
खड्काले राहत सहयोगको बारेमा थप प्रकाश पार्दै भनिन्, ‘एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरू गर्दै ग्रासरुट लेभलमा आवश्यक सहयोग पुर्याउँदै आएको छ र भविष्यमा पनि आपत् विपद्मा सहयोग पुर्याउन तत्पर छौं । सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’
एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढीपहिरो पीडितहरूका लागि ठूलो सहयोग भएको छ । स्थानीय निकायले यो सहकार्यले पीडित परिवारहरूलाई ठूलो महत्त्व राखेको हुनाले प्रशंसा गरेका छन् ।
एनसेल फाउन्डेसनले परिस्थितिको मुल्याङ्कन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुर्नस्थापनामा पनि सहयोग पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ ।