खानेपानी मन्त्रीको निर्देशन- उपत्यकावासीलाई एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्नू
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् ।
मंगलवार मेलम्चीबाट काठमाडौं पथान्तरण गरिएको सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट उपत्यकामा पानी वितरण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले केयुकेएलले दुई दिन बिराएर पानी वितरण गर्ने भनेपनि अहिले मानिसहरूको चाप कम रहेकाले एक दिन बिराएरै पानी वितरण गर्न आग्रह गरेको बताए । उनले बर्सातका कारण खानेपानीमा पुग्ने क्षतिलाई मध्यनजर गरेर पानी वितरणमा रोक लगाइए पनि आजबाट उपत्यकावासीका घरघरमा मेलम्चीको पानी आएको बताए ।
उनले तत्काल मेलम्चीबाट १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं उपत्यकामा आउने जनाए । पानी ल्याउन धेरै चुनौती र कठिनाइ व्यहोर्नुपरेको भन्दै स्थानीयहरूको माग दसैँपछि सिंहदरबारमा बोलाइ संवादबाट पूरा गर्न सरकार तयार रहेको बताए ।
उनले भने ‘काठमाडौं उपत्यकावासीको जुन सपना थियो, हिमालको पानी, मेलम्चीबाट निस्किएको पानी खान पाउँछ र त्यसको लागि मेलम्ची विकास समितिले अर्बौँ रुपैयाँ लगाएर ट्रनेल बनाएको थियो । शुद्ध खानेपानी काठमाडौंवासीलाई दिइरहेको थियो । तर २०७८ सालको बाढीले र पहिरोले गर्दा धेरै क्षति भयो । स्थानीयवासीको पनि अवरोध भयो । त्यसले गर्दा कहिले खुल्ने र कहिले बन्द हुने अवस्था भयो । वर्षाको कारणले गर्दा ४ महिना बन्द हुने स्थिति आयो । यो ४ महिनादेखि बन्द नै थियो । आज दसैँअघि प्रतिबद्धता गरेका थियौँ, पानी काठमाडौं पथान्तरण गर्ने त्यो वाचा पूरा गरेका छौँ । अब काठमाडौं उपत्यकावासीको घरघरमा यो पानी पुग्छ । त्यसको लागि केयुकेएललाई अनुरोध गरेका छौँ । सबै मोनिटर गरेर जनताको घरघरमा पानी वितरण गर्नुस् भनेका छौँ । यसमा १७ करोड लिटर पानी आउँछ । यो सबै काठमाडौं उपत्यकामा जान्छ । यो पानीले गर्दा खास गरेर काठमाडौं उपत्यकावासीको लागि कमसेकम दुई दिन बिराएर दिने योजना छ । मैले एक दिन बिराएर दिन आग्रह गरेको छु । पानी ल्याउन धेरै चुनौती र कठिनाइ भयो । हेलम्बुका प्रभावितहरू आन्दोलनमा थिए । स्थानीय जनप्रतिनिधिहरू आन्दोलनमा थिए । उहाँहरूसँग वार्ता गरेर, उहाँहरूलाई विश्वासमा लिएर पानी ल्याएका छौँ । अब अर्को बर्सात नआउन्जेल निरन्तर पानी आउँछ । आन्दोलन त उहाँहरुले आंशिक रुपमा स्थगित गर्नुभएको छ । उहाँहरुले माग पूरा भएन भने तीन महिनामै आन्दोलन गर्छौं भनेका छन् । उहाँहरूको जायज माग हामी दसैँपछि बोलाएर राय, सल्लाह लिएर गर्नसक्ने कुरा अघि बढाउँछौँ ।’
मन्त्री यादवसँग स्थानीयवासीले तीन महिनाभित्र मागहरू सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । मन्त्री यादवले हेलम्बु र मेलम्चीवासीले आन्दोलन गर्नुपर्ने स्थिति आउन नदिने बताएका छन् ।