मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै


काठमाडौँ । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिता यही अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैँफर्टमा हुँदैछ । इजिकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आइसिओ), जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरू भोलि जर्मनी प्रस्थान गर्नेछन् ।
टोलीलाई आदिवासी खेलकुद सङ्घ नेपालका अध्यक्षसमेत रहेका नेपाल उमा कुङ्फु सङ्घका महासचिव भूपेन्द्र गुरुङले आज आयोजित एक कार्यक्रममा बिदाइ गरे । तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताए ।
