कलाकार विष्णु खत्री र दुर्गेश थापाको दशैँ कथा

बागलुङ । अघिपछि गीत स्वराङ्कन र मेला–महोत्सवले भ्याइनभ्याइ नहुने कलाकार दसैँमा गाउँ फिरेका छन् । गृहथलोमा दसैँ मनाउन आएका उनीहरु पारिवारिक जमघट र स्वजनसँगको आत्मीय भेटमा रमाइरहेका छन् । दसैँ बिदाको फुसर्दलाई छोपेर कतिले घुमघामको योजना बनाइरहेका छन् । कोही साथीसङ्गीसँग बालापनका दिन सम्झँदै साउती मारिरहेका भेटिन्छन् ।

सत्रौँ दसैँगीत ‘रित्तो भकारी…’ स्रोता÷दर्शकलाई सुम्पेर गाउँ फर्किएका लोकगायक विष्णु खत्री पाँच दिनदेखि आफ्नै थातथलो बागलुङको गलकोट नगरपालिका–७ मल्ममा छन् । उनले यसपालिको दसैँमा पारिवारिक पुर्नमिलनसँगै मान्यजन र साथीभाइसँग भेटघाट तथा सामाजिक अन्तरक्रिया गर्ने अवसर मिलेको सुनाए ।

“आज विजयादशमीको मुख्य गरी मान्यजनबाट टिका र आशीवार्द ग्रहण गर्ने दिन हो”, गायक खत्रीले भने, “घरमा टिका लगाइवरी ससुराली र मावलीघर पनि जाने योजना छ ।” उहाँले मिलेसम्म डाँडामा पिङ्ग खेल्न जाने सोच बनाउनुभएको छ । उहाँले दसैँ आफन्त साथीसङ्गीसँग भेटघाट गर्ने र दुःखसुख साट्ने अवसर भएको बताए ।

दसैँगीतका पर्यायझैँ बनेका लोकगायक खत्रीले १७ वर्षदेखि निरन्तर दसैँगीत सार्वजनिक गर्दै आएका छन् । विसं २०६४ मा पहिलो दसैँगीत ‘सुनको जलप…’ ल्याउनुभएका उहाँको पछिल्लो दसैँगीत ‘रित्तो भकारी…’ हो । यसपालिको गायक खत्रीको दसैँगीतले देशको वर्तमान अवस्था र नेपालीको मनोदशालाई चित्रित गर्ने प्रयास गरेको छ । सालिन्दा दसैँगीत गाउँदै आउनुभएका उहाँलाई दसैँ पर्वमा आफैमा पनि विशेष भएर आउने गर्छ ।

यसअघि गायक खत्रीका ‘दसैँ–तिहार सँगै मनाउँला’, ‘रिनै रिनको’, ‘दसैँमा आउ प्यारा’, ‘जहाजको टिकट’, ‘कति रुनी हो’लगायत गीत सार्वजनिक भएका थिए । उनका प्रायः गीतमा प्रवासिएका नेपाली र तिनका स्वजनका दुःख–बेदना समेटिएको पाइन्छ । खत्रीका गीतले चाडबाड आएको छनक पनि दिन्छन् ।

गायक तथा मोडेल दुर्गेश थापाले दसैँमा घर आएको मौकामा दर्शकलाई नचाउन भ्याए । दसैँका अवसरमा बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा आयोजित विविध खेलकुद तथा खेल कार्यक्रममा उहाँले झण्डै दुई घण्टा आफ्नो प्रस्तुति दिए । स्थानीय वातावरण संरक्षण मञ्चले थापालाई मञ्चस्थ गराएको थियो । गायक थापाले आफ्नो चर्चित गीत ‘बीचबीच्चमा…’, ‘भनभन भाइ हो…’लगायत गाए ।

लोकगायक खत्री र थापा नाताले दाजुभाइ तथा छिमेकी हुन् । कर्मथलो काठमाडौँमा र देशदेशावरका कार्यक्रममा दुई जनाबीच भेटघाट तथा सहकार्य भइरहने गरे पनि गाउँमा सँगसँगै दसैँ मनाउनुको आनन्द बेग्लै हुने गायक थापाले बताए । नेपालमा भएसम्म दसैँ, तिहार जस्ता पर्वमा गाउँ आउने गरेको उनले सुनाए ।

“चाडपर्वका बेला गाउँमै आउन मन लाग्छ, दसैँ घरगाउँमै रमाइलो हुन्छ”, गायक थापाले भने, “आफन्त र साथीसङ्गीहरुसँग भेटघाट हुने, मिठोमसिनो खाने, घुमघाम गर्ने योजना छ ।”

उत्तम साइत पारेर घरमा बुबाआमा र मान्यजनको हातबाट टीका थाप्ने तयारीमा गायक थापा हुन् । नियमित कामलाई थाती राखेर दसैँ मनाउन गाउँ आउन पाउँदा मन यसै फुरुङ्ग हुने गरेको उनको अनुभव छ । बालापनमा जस्तो दसैँ अहिले नभएपनि दसैँले छुट्टै खालको अनुभूति मनमा पैदा गर्ने गरेको गायक थापाले बताए ।

हालै ‘ह्रस्वदीर्घ’लगायत केही चलचित्रमा गायन र सङ्गीतको काम गर्नुभएका उनले सयौँ गीतका म्यूजिक भिडियोमा अभिनय गरेका छन् । साङ्गीतिक कार्यक्रमका दौरान देशविदेश घुमिरहने थापाले दसैँ बिदाको पूरा समय परिवारलाई दिने बताए ।

लोकगायक ईश्वर सिँह पनि दसैँमा गाउँ आएका छन् । गलकोट नगरपालिका–७ मल्मका उहाँका लागि यसपालिको दसैँ भने अलिक खल्लो छ । टीका लगाउने कार्यक्रम नभए पनि परिवार र आफन्तसितको भेटघाटले रमाइलो अनुभूति भइरहेको उनले बताए । उनले दसैँको मौकामा ‘लाहुरे देरादुनको…’ गीत सार्वजनिक गरेका थिए । प्रवासीको कथा÷व्यथा समेटेर गाएको उक्त गीतले दसैँको झल्को दिएको छ । लोकगायक सिँहले दसैँमा गाउँघर आउनुसँग धेरै आयाम जोडिएको बताए ।

“वर्षौँसम्म भेट नभएको साथीसँग पनि दसैँका बेला भेटघाट हुन्छ, आफन्त र मान्यजनसँग लिन पाइन्छ”, उनले भने, “पिङ्ग खेल्ने, घुम्न जाने, मिठोमसिनो परिकार बनाएर खाने, रमाउने गर्दा दसैँको माहोल नै छुट्टै हुने गर्छ ।”

गायक तथा सर्जक प्रल्हाद सुवेदी पनि केही दिनदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङमा छन् । वृद्ध भएकी आमा र परिवारसँगै बसेर दसैँ मनाउन पाउँदा उहाँको मन पनि चङ्गा भएको छ । उनले बर्सेनि नछुटाई दसैँमा घर आउने गरेको सुनाए । “दसैँको माहोल गाउँमै रमाइलो हुन्छ, मान्यजनको हातबाट टीका र आशीवार्दको विशेष महत्व हुने हुँदा दसैँमा गाउँ आउन मन लाग्छ”, गायक सुवेदीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *