ओमकारलाई बाख्रा चराउन सघाउने पुन्टु

काठमाडौँ । बिहान करिब ११ बजेको समय । भक्तपुर कटुन्जेस्थित सुवर्णेश्वर जंगलमा एउटा खैरो कुकुरको पछाडि २८ ओटा बाख्राहरू थिए । वरपर कोही थिएन । यसो हेर्दा एउटा सानो कुकुरले बाख्रा चराइरहेझैँ देखिन्थ्यो । कहिबेर पछि काँधमा छड्के झोला भिरेर, हातमा लामो लट्ठी बोकेका अधवैशे गोठालो आइपुगे ।

उनी हुन् भक्तपुर झाउखेलका ५३ वर्षीय ओमकार बुढाथोकी मगर । उनले सधैँ यसरी नै पुन्टुको सहायताले जंगलमा बाख्रा चराउने गरेका छन् ।

बुढाथोकी मगरका अनुसार उनले ३ वर्ष अगाडि पुन्टु (कुकुर) लाई बाटोमा भेटेका थिए । त्यसबेला मोटरसाइकलको ठक्करले पुन्टु घाइते अवस्थामा थियो । उनले ३ दिनसम्म पुन्टु कराएको आवाज सुने । त्यसपछि घरमा ल्याए । उनले भेटनरी डाक्टरलाई बोलाएर खुट्टामा प्लास्टर गरिदिए ।

उनी भन्छन् ‘त्यसबेला यो सानो थियो, बिरालो जत्रो । १ महिनापछि डाक्टर आफैँ आएर प्लास्टर खोलिदिनुभयो । त्यसबेला देखि यो मै संग बस्छ । ’

उनले त्यसदिन देखि पुन्टु उनकै घरमा नै बस्न थालेको सुनाए । उनले दिनकै यसरी नै पुन्टुलाई लिएर कटुन्जेको जंगलमा बाख्रा चराउन जाने बताए ।

उनले भने ‘कहिलेकाहीँ साथीभाइसँग गफमा भुलिन्छ । बाख्रा यता गायो कि उता गयो थाहा हुदैँन् । यसको पछि पछि लाग्यो भने भेटिन्छ, पुन्टुले सुङ्दै सुङ्दै बाख्रा छेउ पुर्याउछन् । म बाख्रा खोज्न जादिँन् । यसकै पछि मात्र जान्छु । बाख्रा करायो भने यताउति गएर हेर्छ । कुन बाख्रालाई केही भयो कि, टोक्यो कि भनेर सूचना दिन्छ ।’

उनले जंगलमा जवानहरूको डर भएमा पुन्टुले भुकिदिने र सबै बाख्राहरू एक ठाउँमा आएर जम्मा हुने गरेको जानकारी दिए ।

बुढाथोकी मगरले बाख्रा कराउँदा पुन्टुले यताउति गएर सावधानीपूर्वक हेर्ने र केही भएमा तुरुन्तै सूचना दिने बताए ।

उनका अनुसार हालसम्म करिब ५० जना व्यक्तिहरूले पुन्टुलाई किन्न खोजिसकेका छन् ।  तर २० सै हजार दिए पनि पुन्टुलाई नबेच्ने उनले बताए ।

उनले भने ‘मलाई लगभग ५० जनाले मागिसके । तर २० हजारमा दे भने पनि म दिन्न । यो एकदम ज्ञानी छ । यदि यो झुक्किएर घरमै पर्यो भने जहाँबाट भएपनि मलाई र बाख्रालाई भेट्न यत्रो घना जंगलमा आउँछ ।’

उनले पुन्टुलाई घरमा ल्याउनु भन्दा पहिले भोटे कुकुरलाई पालेका थिए । उक्त भोटेकुकुरले नै पुन्टुलाई बाख्रा चराउन सिकाएको उनको भनाई छ । भोटेकुकुरले पुन्टुलाई टोकेको टोक्यै गरेपछि बुढाथोकी मगरले दुई लट्ठी हान्दा सो भोटे कुकुर दोहोरो फिर्ता नआएको उनले दुखेसो पोखे ।

उनले पुन्टु हुँदा बाख्रा चराउन धेरै नै सुरक्षित भएको तर सानो भएकोले अहिलेसम्म एक्लै चराउन नदिएको सुनाए ।

उनले भने ‘यसले बाख्रा त राम्रो हेर्छ, ठूलो ठूलो बाख्राहरूलाई त होइन, सानो सानो बाख्राहरूलाई चैँ कानमा टोकेर ल्याउँछ यसले । तर अहिलेसम्म पुन्टुलाई एक्लै बाख्रा चराउन दिएको छैन । किनभने यो सानो छ, चितुवाले आक्रमण गर्ने डर हुन्छ ।’

भने ‘पुन्टुले बाख्रा लियर जाँदा पनि बाटो तलतिर माथितिर हेर्छ । अब यो रोकियो भने बाख्रा पनि रोकिन्छ । यो अगाडि नै हिँड्छ । सक्ने चिजलाई त धपाइ हाल्छ । मृग, कालिज र खरायोहरू धपाउँछ ।’

उनले पुन्टु घर जाँदा बाख्राहरू पनि पछि लाग्ने बताए ।

पुन्टुले प्रायजसो बिस्कुट खान्छ उनले भने । उनले आफूले भिर्ने झोलामा पुन्टुका लागि बिस्कुट बोक्ने बताए । यसबाहेक पुन्टुले चिउरा, पप, दुनोट खाने जानकारी दिए ।

उनले भने ‘मेरो छिमेकीलाई सोधे हुन्छ, कसैको घरमा पनि जादैँन् । यसले भात खाने भए अर्कोको घर जान्थ्यो होला । यसले भात खादैँन्, अरुले बिस्कुट दिँदैनन् ।’

उनले घरमा पुन्टुलाई सबैले माया गर्ने र छोरी र आफन्तहरूले पनि बन्डलका बन्डल बिस्कुट ल्याइदिने गरेको बताए ‘हामीले भात खाँदा पुन्टुले हेर्दा पनि हेर्दैन’ उनले भने । पुन्टु प्राय बाख्राकै खोरमा सुत्ने उनले बताए । घरमा कोही नौलो मानिस देख्नासाथ पुन्टुले भुकेर जानकारी दिने उनको भनाई छ ।

बुढाथोकी मगरले पुन्टु आफ्नो बाख्रा चराउने साथी भएको बताए । उनले वरपरका मानिसहरूले पनि उनलाई ‘तपाईँहरू त दुई जना गोठालो हुनुहुन्छ’ भनेर भन्ने गरेको बताए । मगरले पुन्टुका कारण आफूलाई बाख्रा चराउन सहज भएको बताए ।

बाख्रा पालनसँगै ड्राइगन खेती गर्दै बुढाथोकी मगर

बाख्रा पालक तथा कृषक ओमकार बुढाथोकी मगरका अनुसार हाल उनले २८ ओटा बाख्राहरू पालेका छन् । उनको पुरानो घर बागलुङ हो । तर हाल उनी भक्तपुरस्थित कटुन्जेमा बस्दै आएका छन् । उनले बाख्रा पाल्न थालेको १४ वर्ष भएको बताए । उनले ३ रोपनी जग्गामा वर्षको ६० हजार तिरेर बाख्रा तथा ड्राइगन खेती गर्दै आएको जानकारी दिए ।

उनले एउटा बाख्रा पालनबाट २-३ लाख त सधैँ नाफा हुने बताए । यसबाहेक खसी छ भने वर्षमा ५-६ लाखसम्म फाइदा हुने बताए ।

उनले ड्राइगन फ्रूट ६ महिनामा एकपटक मात्र फल्ने बताए । ‘त्यही आउँछन् कस्टमहरू किन्न । आफूले बोकेर हिँड्नु पर्दैन ।’ उनले भने ।

उनले आफ्नो जीवनको २५ वर्ष विदेशी भूमिमा बिताएको र लकडाउनमा नेपाल फर्किएर बाख्रा पाल्न सुरु गरेको बताए । उनले बाख्रा पालनमा रोग लाग्यो भने चैँ समस्या हुने बताउँछन् ।

त्यस्तै उनले आफ्नो लगानी भए त नेपालमै व्यवसाय गर्नु ठिक भएको बताउँछन् । उनी भन्छन् ‘म धेरै खुसी छु । केही गाह्रो छैन यहाँ । आनन्द छ । पानी झरीको बेला चैँ अलि गाह्रै हुन्छ ।’

उनले एउटा खसी बेच्दा ३० देखि ५० हजारसम्म मूल्य पाउने बताए । उक्त खसीहरू दसैँ, तिहार र नेवारहरूको देवाली र अन्य चाडपर्वमा बढी बिक्री हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *