मीनबहादुरसँग कुनै लेनादेना छैन, अन्तरमनको दान स्वीकारेका हौँ : एमाले

काठमाडौं । नेकपा एमाले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग कुनै लेनादेना नगरेको बताएको छ ।

पार्टी कार्यालय भवन निर्माणमा व्यापारीको सहयोग लिएको भन्दै चौतर्फी आलोचना भएपछि एमालेले मीनबहादुरसँग कुनै लेनादेना नगरेको बताएको हो ।

एमालेले अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले दान गरेको जग्गालाई स्वीकार गरेको बताएको छ । एमालेले बुधवार विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिँदै अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक रहेको बताएको छ ।

‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ । यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन । उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैँले फेस गर्ने हो । संविधान, कानुनभन्दा माथि कोही पनि छैन,’ केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेले भाटभटेनीका मालिक गुरुङ विद्यार्थी कालमा अनेरास्ववियुमाका सक्रिय कार्यकर्ता रहेको बताएको छ । त्यसपछि पनि विभिन्न ट्रेड युनियनमा एमाले निकट रहेर काम गरेको एमालेको दाबी छ ।

७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले एक व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गरेको जनाएको छ ।

विसं २०८१ असोज २४ गतेको सचिवालयको ३८ औँ बैठकले संस्थागत रुपमा स्वीकार गरी उनलाई सहयोगका निम्ति धन्यवाद दिई यही असोज २५ गते औपचारिक रुपमा पार्टी अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालयको शिलान्याससमेत गरिससेको विज्ञप्तिमा उल्लेख छ ।

लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा रहेकाले तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि ग्राह्य हुने जनाएको छ ।

विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौँ महानगरपालिका–१४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयविहीन भएको र त्यसबीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *