साफमा यसपल्ट च्याम्पियन बन्छौँ– कप्तान एञ्जिला

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताएकी छन् ।

नेपालले तेस्रोपल्ट महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ । बिहीबारदेखि घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर कप्तान च्याम्पियन हुने लक्ष्य रहेको बताएकी हुन् । उनले सबै टोली मेहनत गरेर च्याम्पियन बन्नकै लागि आएपनि यसपल्ट आफ्नो टोली सन्तुलित र बलियो रहेको विश्वास व्यक्त गरिन् । कप्तान एञ्जिला यसपल्ट आफ्नो टोलीको मेहनत खेर नजानेमा आशावादी देखिएकी छन् । च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तान भिँड्दैछन् ।

आयोजक नेपालले भने शुक्रवार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्दैछ । पहिलो लक्ष्य समूहचरणका खेलमा राम्रो गर्नु रहेको बताइन् । साफको तयारीका लागि समय छोटो भए पनि घरेलु लिगले मद्दत पुग्ने उनको विश्वास छ । डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भुमिका खेल्नुपर्ने र यसमा राम्रो गर्नसके टोलीमा सुधार आउने उनको भनाइ छ । कप्तान एन्जिलाले अन्तर्राष्ट्रिय एक्सपोजर नभए पनि प्राप्त अवसरबाट उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यअनुरूप खेल्नुपर्ने औँल्याइन् ।

केही समयअगाडि मात्र एन्फा महिला लिगको पहिलो चरण पूरा भएको थियो । सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । त्यहाँबाट राष्ट्रिय टोली निर्माण गरिएको हो । नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताए । फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको उनको भनाइ छ । प्रशिक्षक तामाङले यसबीच केही स्ट्राइकरहरू पनि विदेशमा रहेकाले टिममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिले पनि प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको बताए ।

पाँच पटक साफको फाइनल खेले पनि उपाधिमा चुक्नुको मुख्य कारण डिफेन्समा कमजोरी रहेको उनको बुझाइ छ । यसको सुधारका लागि खेलाडीहरू पनि थप सजक हुनुपर्ने उनी बताउँछन् । तथापि, यसपल्ट डिफेन्समा सुधार भएको उनको विश्वास छ ।

नेपालको समूहमा रहेको भुटानले फुटबलमा धेरै लगानी गरिरहेको र त्यहीअनुरूप प्रदर्शन पनि गरेकाले सहज प्रतिद्वन्द्वी नहुने उनको भनाइ छ । सबै टोली बलियो रहे पनि आफ्नो टोलीका खेलाडी त्यो चुनौती सामना गर्न तयार रहेको प्रशिक्षक तामाङ बताउँछन् । आफ्ना दुई स्ट्राइकरमध्ये रेखाले एक दिन मात्र टोलीसँगै प्रशिक्षण गर्न पाउने भए पनि अर्की स्ट्राइकर सावित्री भण्डारीले एक खेलपछि मात्र खेल्ने भएकाले तालमेल अभाव हुने उनको बुझाइ छ । तर सावित्राको क्षमताप्रति कुनै शंका नरहेको उनले बताए ।

महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँच पटक उपाधि उचाल्दा गत संस्करण मात्र बङ्गलादेशले जितेको छ । बङ्गलादेशका मुख्य प्रशिक्षक पिटर बटलले युवा र अनुभवी खेलाडीसहित टोली सन्तुलित रहेको बताए । बङ्गलादेशले राम्रो तयारी गरेकाले डिफेन्डिङ च्याम्पियनका रूपमा खेल्ने पिटरको विश्वास छ । तर सबै टोलीलाई उतिकै बलियो टोलीका रूपमा खेल्ने पनि उनको भनाइ छ ।

बङ्गलादेशकी कप्तान सविना खातुनले पनि यस च्याम्पियनसिपका लागि खेलाडीले धेरै मेहनते गरेको र टोली सन्तुलित रहेकाले सुखद प्रदर्शन गर्नेमा आशावादी देखेकी छन् । साफको सबैभन्दा बलियो टोली भारतका प्रशिक्षक सन्तोष कश्यपले सहभागी धेरै टोली बलियो रहेकाले र प्रतिस्पर्धात्मक खेलहरू हुने आशा व्यक्त गरिन् । प्रशिक्षक कश्यपले २१ दिन मात्रै तयारी गरे पनि ट्याक्टिल रूपमा राम्रा खेलाडीबिच टोली बलियो बनेको विश्वास व्यक्त गरिन् ।

भारतकी कप्तान आशालताले पनि राम्रो तयारी गरेको बताइन् । साथै उनले टोलीमा अनुभवी र युवा खेलाडीहरू रहेको पनि बताइन् । उनले केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पनि गरेकाले सुखद नतिजा आशा गरेकी छन् । माल्दिभ्सका प्रशिक्षकले प्राप्त अवसरअनुसार राम्रो तयारी गरेको र आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने बताइन् ।

कप्तानले भने आफ्नो टोलीले राम्रो तयारी गर्न नपाएको उल्लेख गरिन् ।

पाकिस्तानका प्रशिक्षक अदिल रिज्कीले तयारी राम्रो रहेको पछिल्लो संस्करणको तुलनामा यसपल्ट धेरै सुधारिएको टोली रहेको बताए । उनले यसपल्ट टोलीमा केही नयाँ खेलाडीहरू पनि रहेको उल्लेख गरे । भारतसँग पहिलो खेल भएपनि बिना दबाब खेल्ने र दुई देशबीचको रोचक प्रतिस्पर्धामा राम्रो खेल प्रस्तुत गर्ने प्रशिक्षकको आशा छ ।

कप्तान मारिया खानले अन्तर्राष्ट्रिय प्रतिबन्धपछि आफ्नो टोली अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो लयमा फर्किएको उल्लेख गरिन् । दुई वर्षपछि नेपाल फर्किँदा सुधारका साथ आएकाले प्रतियोगिताका लागि उत्साहित रहेको मारियाको भनाइ छ ।

श्रीलंकाले करिब ४० दिन यस च्याम्पियनसिपका लागि तयारी गरेको छ । श्रीलंकन टोलीका प्रशिक्षक एमएच रुमीले राम्रो तयारी भएकाले कुनैपनि खेलाडीलाई गल्ती गर्ने छुट नरहेको बताएका छन् । पछिल्ला साफपछि श्रीलंकामा फुटबल खेल्न गाह्रो भएको प्रशिक्षकको भनाइ छ । श्रीलंकाका प्रशिक्षकले करिब ४० दिनको तयारीबाट टोली राम्रो आकारमा आएको बताए । श्रीलंकाकी कप्तान तुसान मधुसिकाले लामो समयदेखि तयारी गरेको र टिम पनि राम्रो रहेकाले यसपल्ट सुखद प्रदर्शन गर्ने आशा व्यक्त गरे ।

भुटानले यस च्याम्पियनसिपका लागि लामो र प्रभावकारी तयारी गरेकाले आफ्नो टोली उत्साहित गरेको कप्तान पेमा छोडेन छिरिङले बताइन्
। भुटानकी प्रशिक्षक निकोला डे मेनीले आफ्नो समूहमा राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताएकी छन् । माल्दिभ्सका प्रशिक्षकले यस च्याम्पियनसिपका लागि आफ्नो टोलीको तयारी पर्याप्त नभए पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरिन् । यस च्याम्पियनसिपका लागि पूर्णरूपमा तयार गर्न नपाए पनि राम्रो प्रदर्शन गर्ने माल्दिभ्सको विश्वास छ ।

च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भुटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साबिक विजेता बङ्गलादेशले प्रतिस्पर्धा गर्ने तय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *