सरकार परिवर्तन हुँदैन, भ्रममा नपर्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायमै रहने बताएका छन् ।

दसैँपछि सरकार तत्काल परिवर्तन हुन्छ भन्ने भ्रम फैल्याइएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता खालको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे । २०८४ सालको दशैँपछि सरकार परिवर्तन हुने उनको जिकिर थियो ।

६९ औं प्रहरी दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २ वर्षे आफ्नो कार्यकाल पूरा हुने बित्तिकै काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने पनि दोहो¥याए ।

उनले देउवाले चुनावी सरकारको नेतृत्व गर्ने र चुनाव सम्पन्न भएपछि नयाँ सरकार बन्ने तर त्यसअघि काँग्रेस–एमाले गठन सरकार कायमै रहने दाबी समेत गरे ।

काँग्रेस–एमाले नेतृत्वको वर्तमान सरकार करिव दुई तिहाईको सरकार भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई खरानीको डल्लो नसम्झन पनि चेतावनी दिए ।

उनले भने– ‘सबैलाई आश्वस्त रहनु पनि आग्रह गर्न चाहन्छु कि कुनै पनि प्रकारका भ्रमहरुमा नपर्न म आग्रह गर्न चाहन्छु । अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्नेकुरा पनि सुनिन्छ । दशैंपछि तुरुन्त परिवर्तन हुन्छ रे । कुन दशैँपछि ? २०८४ सालको दशैँपछिको चुनावमा ? त्यसभन्दा पहिला मैले पहिले नै भनिसकेको छु–मैले एक वर्ष नौ महिना जति रह्यो होला । त्यसपछि शेरबहादुरजीलाई हस्तातरण गर्छु भनेर मैले पहिला नै भनिसकेको छु । त्यसपछि आफै फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । र, चुनाव उहाँको नेतृत्वमा हुन्छ २०८४ सालमा । त्यसपछि चुनावबाट जो आउँछ, उसले सरकार बनाउँछ । यस कुरामा सबैलाई ढुक्क रहन म आग्रह गर्न चाहन्छु । नेपालको राजनीति, नेपालको समाज, नेपालो अर्थतन्त्र, नेपालको विकासमा सबैभन्दा ठूलो योगदान गरेका नेपाली काँग्रेस र एमालेजस्तो पार्टीहरु मिलेर अहिले सरकार बनाएका छन् । र सरकार लगभग दुई तिहाईको छ भन्ने कुरा सबैमा हेक्का रहोस् । यो खरानीको डल्लो होइन । नेकपा एमाले र नेपाली काँग्रेस जसको इतिहास, यो देशको विकास गर्ने कुरामा छ, परिवर्तन गर्ने कुरामा छ । त्यस्ता पार्टीहरुको सरकार हो यो । म यति कुरा राख्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले वर्तमान शासन प्रणालीको विकल्प सोच्न पनि नसकिने पनि बताए । त्यस अवसरमा उनले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको दिएको योगदानको प्रशंशा समेत गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *