उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउन छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल सुरु गरेका छन् ।

पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आज आयोजनाका महानिर्देशकसहित सातै प्रदेशका आयोजना प्रमुखसँगको समीक्षात्मक छलफलमा उनले कार्य प्रगतिबारे जानकारी लिए । उपप्रधानमन्त्री सिंहले आयोजना कार्यान्वयनका समस्या पहिचान गरी कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । ‘तपाईहरूसँगको छलफलपछि समस्या के छ ? भन्ने जानकारीमा आएको छ । यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि पहल गर्छु’, उनले भने ।

छलफलमा आयोजनाअन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखले चालु आर्थिक वर्षमा भएका उपलब्धि, भोग्नुपरेका समस्या र भइरहेका कामबारे प्रस्तुतीकरण राखेका थिए । यस्तै, असोजमा आएको बाढीका कारण भएको क्षति र बाढीपछि भएका कामबारे पनि जानकारी गराइएको थियो ।

आयोजना प्रमुखहरूले पूर्वतयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिने क्रम जारी रहने, एउटै आयोजनामा पनि दोहोरोपनाको समस्या रहेकाले यस्तो काम रोक्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्रालयका सचिव मणिराम गेलालले छलफलले चालु आवको विनियोजित कार्यक्रमहरू सम्पन्न गर्न देखापरेका समस्या, समाधानका उपाय र आयोजनाका तर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारे धेरै विषय प्रष्ट भएको बताए । यसले आगामी दिनमा काम गर्न थप सहज हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *