नेपालले पहिलो पटक भूटानसँग अंक बाँड्यो

काठमाडौं । नेपालले पहिलोपल्ट साफ महिला च्याम्पियनसिपमा भुटानसँग अंक बाँडेको छ ।

घरेलु मैदान दशरथ रंगशाला शुक्रवार भएको खेलमा गोलरहित बराबरी रोकिएसँगै नेपालले पहिलोपल्ट साफ इतिहासमा भूटानमा अंक बाँडेको हो ।

साथै नेपाली महिला टोलीले पहिलोपल्ट भूटानविरूद्ध गोल गर्न सकेन । चार टोली रहेको समूह बी को खेलमा भूटानले घरेलु टोलीमाथि दबाब बनाउँदै अंक लिन सफल भयो ।

नेपालले धेरै आक्रमण बुने पनि अग्रपंक्तिले सफलता पाउन सकेन । भूटानकी गोलकिपर संगीता मोंगेरले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको चुनौती समाप्त पारिन् । उनी प्लेयर अफ दी म्याच पनि भइन् ।

त्यसअघि १३ औं मिनेटमा नेपालको पहिलो प्रहार भूटानकी गोलकिपर संगीता मोंगेरले असफल बनाइन् । रश्मिकुमारी घिसिङले करिव १२ यार्डबाट गरेको प्रहार संगीताले पन्च गर्दै बचाउ गरिन् ।

रश्मिले २३औं मिनेटमा पनि अर्को अवसर खेर फालिन् । पेनाल्टी बक्सबाट उनले फितलो प्रहार गरिन् । तीन मिनेटपछि नै सरूले लिम्बूले गोल गर्ने अवसर गुमाइन् ।

प्रीति राईले पेनाल्टी बक्सि दिएको थ्रु पासमा उनको प्रहार अकासियो । त्यसपछि दुवै तर्फबाट केही आक्रमण भएपनि गोल निस्किएन । पहिलो हाफमा भूटानले नेपाललाई गोलरहित बराबरीमा रोक्यो ।

५२औं मिनेटमा नेपालको गोल प्रयास विफल भयो । रेखा पौडेलको प्रहार भूटानकी गोलकिपर संगीता रोके पनि गोलतर्फ अग्रसर भएको थियो । तर भूटानकी डिफेन्डर ज्याम्यंग छोडेनले क्लियर गरिदिइन् ।

५८ औं मिनेटमा सविता रानामगरले पेनाल्टी बक्सबाहिरबाट गरेको महत्वाकांक्षी सट भूटानकी गोलकिपर संगीताका लागि चुनौती बन्न सकेन । एक मिनेटलगत्तै रेखा पौडेलले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकिनन् ।

करिव आठ यार्डबाट रेखाको प्रहार गोलकिपरको हातमै पुग्यो । ८४ औं मिनेटमा सविता रानामगरको वान भर्सेस वानको प्रहार भूटानकी गोलकिपर संगीताले बचाउँंदै संकट टारिन् । अतिरिक्त मिनेटमा अमिसा कार्कीले नेपालको पहिलो गोल गर्ने अवसर गुमाइन् ।

राइट साइडबाट सविताले दिएको पासलाई अनमार्क अमिसाले नियन्त्रणमा लिन सकिनन् ।

सविता रानामगरले अन्तिम समयमा गरेको प्रहार पहिलो बारमा लागेर बाहिरियो । त्यससँगै नेपाली महिला टोलीले पहिलोपल्ट भूटानसँग अंक बाँड्न बाध्य भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *