स्वर्णिम वाग्लेको आरोप- संगठित अपराध गर्नेहरू वर्तमान मन्त्रीपरिषद्मा छन्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रीपरिषद्मा रहेको आरोप लगाएका छन् ।

शनिवार पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपराधीहरू अहिलेको मन्त्रीपरिषद्मा रहेको भन्दै उनीहरूबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको बताए ।

उनले अहिले कुशासनको अभ्यास भइरहेको बताए । उनले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप लगाए । महामन्त्री थापाले सहकारी छानबिन विशेष समिति बन्नुपूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताएका थिए ।

संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा विभिन्न सहकारीमार्फत रकम ल्याइ हिनामिना गरेको निष्कर्ष निकालेको थियो । सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनलाई रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए ।

उनले भने ‘कसैलाई आफ्नो राजनीति जोगाउन उसलाई सिद्ध्याएरै छोड्नु थियो । कसैलाई सहकारीको ८७ अर्ब भ्याउनु थियो । कसैलाई सहकारी डिभोर्स लुकाउनु थियो । कसैलाई गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनु थियो । कसैलाई ललितानिवासलाई दक्षिणमा बदलेर गोजी भर्नु थियो । कसैलाई लुटको रङ्गशालामा बाँचुन्जेल फुटबल हान्नु थियो । कसैलाई आफूसँगको साथी माथि पुगेकोमा खुट्टा तान्नु थियो । मीनबहादुर गुरुङविरुद्धको मुद्दा केपी ओलीले अघि बढाउलान्, उनको सेटिङको लागि हो । कुशासनको अभ्यास अहिले भइरहेको छ । संगठित अपराधीहरू अहिलेको मन्त्रीपरिषद्मा छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपराधीहरू अहिलेको मन्त्रीपरिषद्मा छन् । उनीहरूबाट ध्यान मोड्नका लागि यी कुराहरू भएका छन् ।’

विरोध कार्यक्रममा बोल्दै रास्वपा सांसद डा. तोषिमा कार्कीले सहकारी छानबिन प्रकरणमा रवि लामिछानेमाथि कुनै प्रमाण फेला नपरे पनि पक्राउ गरिएको भन्दै आपत्ति जनाइन् । उनले छानबिनका लागि आफूहरू तयार भएको बताइन । उनले सम्पूर्ण सहकारी पीडितहरूको रकम फिर्ता गर्ने हिम्मत छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।

रास्वपा सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो । सभापति पक्राउ पछि रास्वपाका नेता÷कार्यकर्ताहरूले पक्राउ गरेकोमा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *